एमएडब्लूको पोर्टफोलियो २ अर्ब ५३ करोड, बैंकको भन्दा उच्च एनपीए

  २०८१ माघ २३ गते १३:४५     विकासन्युज

काठमाडौं । उद्योगी विष्णुकुमार अग्रवालले नेतृत्व गरिरहेको एमएडब्लू हायर पर्चेज कम्पनीको आम्दानी केही घटेको देखिएको छ ।  सन् २०२३ को तुलनामा २०२४ मा केही घटेको देखिएको हो ।

एमएडब्लू हायर पर्चेजले २०२४ मा ४३ करोड ९० लाख रुपैयाँ कुल आम्दानी गरेको छ भने २०२३ मा ४४ करोड रुपैयाँ आम्दानी गरेको थियो । यो एक वर्षको अवधिमा यस कम्पनीको आम्दानी १० लाख अर्थात् ०.२२ प्रतिशतले घटेको देखिन्छ । २०२५ को पहिलो त्रैमासमा भने यस कम्पनीले १० करोड रुपैयाँ आम्दानी गरेको देखिएको हो । यस्तै, २०२२ मा कम्पनीले कुल ३८ करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

कम्पनीको नेटवर्थ भने बढ्दै गएको देखिएको छ । २०२३ मा ४९ करोड ४० लाख रुपैयाँको खुद नेटवर्थ रहेको यस कम्पनीको २०२५ सम्म आइपुग्दा ५८ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

सार्वजनिक विवरणका अनुसार एमएडब्लूको कुल पोर्टफोलियो २ अर्ब ५३ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसअघि अर्थात्  २०२४ मा यस कम्पनीको कुल पोर्टफोलियो २ अर्ब ४८ करोड ४० लाख, २०२३ मा २ अर्ब ३७ करोड ३० लाख र २०२२ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँ थियो । २०२२ को तुलनामा पोर्टफोलियोमा गिरावट देखिए पनि २०२५ मा २०२३ र ०२४ को तुलनामा बढेको देखिएको हो ।

कम्पनीले आफ्नो कुल पोर्टफोलियोभन्दा बढी ऋण लिएको छ । रेटिङ एजेन्सी इक्राका अनुसार कम्पीले कुल २ अर्ब ७९ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।  जुन रकम पोर्टफोलियोभन्दा कम हो । कम्पनीले दीर्घकालीन ऋणका लागि एल डबल बी प्लसको रेटिङ पाएको छ भने अल्पकालिन ऋणका लागि ए फोर प्लसको रेटिङ प्राप्त गरेको छ ।

हालसम्म कम्पनीसँग कुल २ अर्ब ६८ करोड ५० लाख रुपैयाँबराबरको सम्पत्ति रहेको देखिएको छ । सन् २०२४ सम्म कुल २ अर्ब ६० करोड ८० लाख रुपैयाँ सम्पत्ति कम्पनीसँग थियो ।

यस्तै, कुल नन् पफर्मिङ लोन (एनपीए) बढ्दै गएको देखिन्छ । २०२४ मा ४.१९ प्रतिशतको अनुपातमा रहेको एनपीए २०२५ मा आइपुग्दा ४.३६ प्रतिशत पुगेको छ । यसले कम्पीको ब्याज आम्दानी मार्जिन पनि घटेको छ । २०२४ मा ८.०८ प्रतिशत रहेको कम्पनीको खुद ब्याज मार्जिन २०२५ मा ८.०३ प्रतिशतमा झरेको छ ।

सो ऋणका लागि रेटिङ गराएपनि कम्पनीले सबै ऋण भने उपभोग नगरेको बताएको छ । एमएडब्लूका डाइरेक्टर गोपाल अग्रवालका अनुसार कम्पनी अघिल्लो आर्थिक वर्षको तुलनामा यो त्रैमासमा केही सूचक दबाबमा रहे पनि आर्थिक वर्षको अन्तिममा सन्तुलन हुने बताउँछन् । उनका अनुसार कम्पनीको एनपीए बैंकको तुलनामा केही बढी भएपनि अन्य हायर पर्चेज कम्पनीको तुलनामा भने कम हो ।

कम्पनीले हायर पर्चेज कर्जा पनि प्रवाह गर्दै आएको छ । कम्पनीले प्रवाह गरेको कर्जा असुल गर्न चुनौती देखिएको विज्ञप्तिमा उल्लेख छ ।

सन् २०११ मा स्थापना भएकोको कम्पनीको मुख्य कार्यालय मोरङमा रहेको छ भने मुख्य शाखा काठमाडौंको त्रिपुरेश्वरमा छ, जहाँबाट यसको सम्पूर्ण कामहरु भइरहेका छन् । यो कम्पनीले दुई पाँग्रे सवारी साधन र व्यावसायिक सवारी साधन बिक्री गर्दै आएको छ । यस कम्पनीमा एमएडब्लू प्राइभेट लिमिटेडको ४० प्रतिशत, एमएडब्लू अर्थमोभर्स प्राइभेटको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रणनाथ भट्टराईको ०.५ प्रतिशत सेयर स्वामित्व रहेको छ । जसको नेतृत्व अग्रवालले नै गरिरहेका छन् ।

थप अपडेट : ८ः२१ बजे