निर्यात सहज भएपछि बाहिरियो १२ अर्बको भटमास तेल, सूर्यमुखी तेल पनि बढ्यो

  २०८१ माघ २३ गते ७:००     विकासन्युज

काठमाडौं । वीरगञ्ज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको ५ करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ ।

गत आवको ६ महिनाको अवधिमा भने ३ करोड ११ लाख रुपैयाँको १ लाख १ हजार ३०१ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो । छिमेकी मुलुक भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यात सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको उनले बताए ।

‘अहिले भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार देखिएको छ’,’ सूचना अधिकारी तिवारीले भने ।

चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको छ । चालु आवको ६ महिनाको अवधिमा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँको २ करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गत आवको सोही अवधिमा भने ९ करोड ९४ लाख १० हजार रुपैयाँ मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।