२०८१ माघ २२ गते २१:४४ विकासन्युज
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले दीर्घ सेवा पदक पाएका कर्मचारीहरूका लागि ८६ तोला बढी सुन खर्च गरेको छ । २१औं वार्षिकोत्सवका अवसरमा टेलिकमले दीर्घसेवा पदक पाएका कर्मचारीहरूलाई ८६.१६ तोला सुन र ४०२ तोला चाँदी जडित पदक प्रदान गरेको हो ।
कुनै पनि कम्पनीमा २० वर्ष अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घसेवा पदक दिने अभ्यास छ । सोहीअनुसार नेपाल टेलिकमको २१औं वार्षिकोत्सवका अवसरमा २० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीले दीर्घसेवा पदक पाएका हुन् । टेलिकमले दीर्घसेवा पदकसँगै ५ ग्राम सुन र २ तोला चाँदी मिश्रित पदकसमेत प्रदान गरेको हो ।
पदक पाएका २०१ कर्मचारीलाई ५ ग्राम सुनले गणना गर्दा १ हजार ५ ग्राम सुन हुन आउँछ । एक तोला सुनकाे ११.६६३८ ग्राम सुन हुन्छ । यस आधारमा टेलिकमले २०१ पदकका लागि ८६.१६ तोला सुन खर्च गरेको हो ।
दीर्घसेवा पदक पाउनेहरूमा प्रबन्धक पददेखि कार्यालय सहयोगीसम्मका पदमा कार्यरत कर्मचारीहरू छन् । उनीहरूलाई एक महिना बराबरको तलबसमेत थपेर दिइएको छ ।
२० वर्ष अवधि पूरा गरेका २०१ जना कर्मचारीहरूलाई दीर्घसेवा पदक वितरण गरिएको नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रले बताए । उनका अनुसार पदकमा ५ ग्राम सुन र २ तोला चाँदी मिसिएको तक्मा र खाइपाइ आएको एक महिनाको तलब प्रदान गरिएको हो ।
‘टेलिकमले २० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीलाई दीर्घसेवा पदकमा सुन र चाँदी जडित गरिएको हुन्छ । यो अभ्यास विगतदेखि नै हो । छुट्टै सुन र चाँदी दिइएको होइन,’ उनले भने, ‘पदक पाउनेमा १३३ जना काठमाडौंमा कार्यरत छन् भने बाँकी कर्मचारी जिल्लामा कार्यरत हुनुहुन्छ ।’
सञ्चार तथा सूचना प्रविमिन्त्री पृथ्वीसुब्बा गुरूङले राम्रो काम गर्ने कर्मचारीको पदकमा १० ग्राम सुन जडित गर्न थप निर्देशन दिए । ‘किन ५ ग्राम मात्रै सुन जडित गरेको ? राम्रो काम गर्ने कर्मचारीलाई अझै १० ग्राम सुन दिँदा पनि हुन्छ,’ मन्त्री गुरूङले कार्यक्रममा भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.