२०८१ माघ २२ गते १८:०० विकासन्युज
डुम्रे । तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटधाममा दर्शन गर्न जाने दर्शनार्थी त्रासमा यात्रा गर्न बाध्य बनेका छन् । देवघाटधाममा चलिरहेको एकमहिने धार्मिक महोत्सवमा आवतजावत गर्ने पुल नै जीर्ण बनेपछि त्रास बढेको उनीहरूको भनाइ छ ।
तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलबाट आवतजावतमा समस्या हुनाका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् । भीड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ ।
जोखिम न्यूनीकरणका लागि एक पटकमा १०० जना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भीड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङ्गे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रुपमा एक पटकमा १०० व्यक्तिमात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रुपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ ।
सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो । सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङ्गे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् ।
वर्षौंअघि देखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । माघेसङ्क्रान्ति मेला लाग्ने बेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुङ्गे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उनले बताए ।
‘देवघाटधाममा भक्तजनको हिन्दू धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुङ्गे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ,’ उनी भन्छन्,‘अकल्पनीय घटना नघटोस् भनेर पटक पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरबेल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’
चितवनको दासढुङ्गा, ठिमुरा र नवलपुरतर्फमा मोटरवेल पुल छन् । तर आफ्ना सवारी साधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङ्गे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् । उक्त पुल विसं २०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.