एनटीसीलाई एनसेलको शुभकामना- सँगै सहयात्रा गर्न पाउँदा गौरवान्वित छौं

  २०८१ माघ २२ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम (एनटीसी) आजदेखि २० वर्ष पुरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रमको आयोजना गरी कम्पनीले २१औँ वार्षिकोत्सव मनाइरहेको छ । कम्पनीको २१औं वार्षिकोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्याल लगायत सरोकारवाला सबैले कम्पनीलाई शुभकामना व्यक्त गरेका छन् ।

दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकमको एक्लो प्रतिस्पर्धी हो एनसेल । एनसेलले आफ्नै प्रतिस्पर्धी नेपाल टेलिकमको २१औं वार्षिकोत्सवको शुभकामना दिएको छ । यसरी आफ्नै प्रतिस्पर्धी कम्पनीलाई शुभकामना व्यक्त गरेको कुनैपनि क्षेत्रमा विरलै देखिन्छ । तर, एनसेलले भने व्यावसायीक प्रतिस्पर्धालाई टाढै राखेर शुभकामना दिने गरेको छ ।

‘देशको दूरसञ्चार क्षेत्रको विकासमा सधैं सँगै योगदान पुयाउँदै उज्ज्वल डिजिटल भविष्य निर्माणका लागि मेरुदण्ड बनेर निरन्तर सहयात्रा गर्न पाएकोमा हामी अत्यन्तै गौरवान्वित छौं,’ नेपाल दूरसञ्चार कम्पनीलाई २१औं वार्षिकोत्सवको शुभकामना दिँदै भनेको छ, ‘सुखद अवसरमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछौं ।’

दूरसञ्चार क्षेत्रलाई खुला प्रतिस्पर्धी बनाई मुलुकभर सर्वसुलभ र भरपर्दो अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउन नेपाल दूरसञ्चार संस्थानलाई नेपाल दूरसञ्चार कम्पनीमा रूपान्तरण गरिएको हो । कम्पनीमा परिणत भएपछि यस कम्पनीले ‘नेपाल टेलिकम’को नामबाट आफूलाई परिचित गराई व्यावसायिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ । वि.सं. १९७३ मा ओपन वायर म्याग्नेटो सिस्टम प्रयोग गरी मुलुकमा दूरसञ्चार सेवा प्रारम्भ भएको मानिन्छ । वि.सं. १९७४ देखि सर्वसाधारणले समेत टेलिफोन प्रयोग गर्नसक्ने व्यवस्था भएको थियो भने वि.सं. १९९१ मा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि वि.सं. १९९२ देखि मात्र दूरसञ्चार सेवा निजी प्रयोगमा समेत उपलब्ध हुन थालेको देखिन्छ ।

वि.सं. २००५ मा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । यसको कार्यालयलाई ‘आकाशवाणी हेड अफिस’ को नामबाट चिनिन्थ्यो । वि.सं. २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत ‘दरसञ्चार विभाग’ को स्थापना भएको थियो । यस विभागलाई वि.सं. २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो र वि.सं. २०३२ साल असार १ गते नेपाल दरसञ्चार संस्थानमा परिणत गरिएको थियो । वि.सं. २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भयो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको यस संस्थानलाई वि.सं. २०६१ वैशाख १ गते नेपाल दरसञ्चार कम्पनी लिमिटेडमा रूपान्तरण गरिएकाे हाे ।