२०८१ माघ २२ गते १५:२७ प्रा.डा. विवेक आचार्य
क्यान्सर एक जटिल रोग हो । यो खर्चालु पनि उत्तिकै हुन्छ । नेपालमा बर्सेनि क्यान्सर हुने र क्यान्सरबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको पाइन्छ । नेपालीलाई सबैभन्दा धेरै हुने फोक्सो क्यान्सर हो । त्यसपश्चात् अनौठो तरिकाले पाचन प्रणाली सम्बन्धीको क्यान्सर देखिन थालेको छ । जस्तै- मुख, पेट, आन्द्रा, मलाशय लगायतका विभिन्न ठाउँमा क्यान्सर देखा परिरहेको छ । पाचन प्रणाली सम्बन्धी क्यान्सरबाट युवाहरू बढी प्रभावित भएका छन् । नेपालमा फोक्सोको क्यान्सरपछि आमाशयको क्यान्सर निकै बढेको देखिन्छ । हामीकहाँ प्रोष्टेट क्यान्सर अलि कम छ तर, पश्चिमी देशहरूमा प्रोष्टेट क्यान्सर धेरै बढेको छ ।
नेपालमा क्यान्सर : विगत र वर्तमान
नेपालमा क्यान्सरका रोगमा प्याटर्न परिवर्तन हुन थालेको छ । पहिले कम देखिने रोग अहिले बढी देखिन थालेका छन् भने पहिले धेरै देखिने क्यान्सर अहिले केही कम हुन थालेको छ । तर, नेपालमा पहिलेदेखि अहिलेसम्मै अग्रस्थानमा रहेको फोक्सोको क्यान्सर अहिले पनि उही स्थानमा छ । किनकि नेपाल अत्यधिक चुरोट खाने देशमा पर्छ र अहिले कलेजमा अध्ययनरत विद्यार्थीले पनि यसको सेवन बढी गर्न थालेको पाइन्छ । अर्को कुरा नेपालमा पहिले पाठेघरको मुखको क्यान्सर पनि बढी देखिएको थियो तर अब विस्तारै स्तन क्यान्सर अग्रस्थानमा जाँदै छ । स्तन क्यान्सर अहिले पश्चिमी देशहरूमा सबैभन्दा बढी छ । अहिले नेपालमा पनि यो बढिरहेको छ । मैले पढ्ने बेला अथवा म वीर अस्पतालमा आवद्ध हुने बेलामा समेत अहिले देखिरहेका क्यान्सर त्यो बेला यति धेरै मात्रामा देखिँदैनथ्यो । आन्द्राको क्यान्सर कुरा गर्दा मैले त्यो बेला पनि रिसर्च गरेको थिएँ जतिबेला युवाहरूमा अलि बढी नै आन्द्राको क्यान्सर देखिएको थियो तर यति धेरै नम्बरमा बिरामी थिएनन् ।
अहिले निकै धेरै नम्बरमा बिरामीको संख्या बढ्दै गएको छ । यो अवस्था हेर्दा हामीले जुन तरिकाले पहिले खानेकुरा खान्थ्यौं, अब फेरि त्यहीँतिर फर्कन आवश्यक देखिन्छ । जस्तै पहिले हामी आफ्नै बारीमा आफैले फलाएको चामल, दाल, तरकारी खान्थ्यौँ भने दूध दही पनि आफ्नै घरमा बनाइन्थ्यो । अहिले अवस्था निकै फेरिएको छ । केटाकेटीदेखि युवापुस्ताले जंक फुड खाने बानी बसालिसकेका छन् । हुँदाहुँदै मासु पनि अहिले अष्टे«लियाबाट आयात हुन थालेको छ । हामी धेरै परनिर्भर हुँदा रोग पनि नयाँ नयाँ किसिमका देखिन थाले । गहुँ, तोरी, लसुन, फलफुल सबै आयात हुन्छ । अब जबसम्म यो प्रक्रिया रोकिँदैन तबसम्म अवस्था जोखिमपूर्ण हुन्छ ।
खानामै गडबड
विगतमा निकै कमदेखि पाचन प्रणाली सम्बन्धीको क्यान्सर अहिले आएर निकै बढ्नुमा हामीले खाइरहेको खानामा शंका गर्नुपर्ने अवस्था आएको छ । किनकि आन्द्राको क्यान्सर भएकाहरू युवा उमेरमै देखिएको हुन्छ । २५/३० वर्षको उमेरमै आन्द्राको क्यान्सर भएर बिरामी आइरहेका छन् भने पक्कै पनि खानामा कहीँ न कही कमजोर छ भन्ने हो । यो अवस्थाले हामीले खाइरहेका कुरामा प्रयोग गरेको विषादीहरू निकै धेरै रहेको अनुमान लगाउन सकिन्छ । विशेषगरी प्याकेजिङ गरिएका खानेकुरामा बाहिर एउटा लेवलिङ गरिएका हुन्छ भने भित्र अर्कै चीज प्रयोग गरिएको हुन्छ ।
अब लेबलिङ अनुसारको भित्र छ कि छैन भन्ने विषयमा निगरानी गर्नुपर्ने अवस्था आएको छ । हामीले खाने खानामा समस्या छ, यो प्रष्ट छ किनभने आन्द्राको क्यान्सर, पेटको क्यान्सर लिभरको क्यान्सर एकदमै बढ्नु भनेको यो सबै पाचन प्रणालीसँग सम्बन्धित समस्या हो । हामीले खाने बजारमा आयातित फलफूल, सागसब्जी लगायत हरेक सामग्रीमा केमिकल मिसिएको छ कि छैन जस्ता कुरामा निगरानी राख्न अब निकै आवश्यक भइसकेको छ ।
वीर अस्पतालमा आउने दैनिक सय जनामध्ये झण्डै १५ देखि २० प्रतिशत बिरामीमा पाचनसम्बन्धी क्यान्सर बोकेर आउँछन् । यो अलाराम वार्निङ हो । यही अवस्थामा हामी सचेत बनेनौँ वा सरकारले केही गर्न सकेन भने भोलिको अवस्था डरलाग्दो हुने छ । अहिले वीर अस्पतालमा दैनिक १ सय जना क्यान्सर रोगका बिरामी उपचारका लागि आउने गर्छन् । जसमा नयाँ र पुराना बिरामी रहेका छन् भने वर्षमा करिब १ हजार क्यान्सरका नयाँ बिरामी र ६-७ हजार पुरानो बिरामीहरू हामीले हेर्नुपर्छ । हाम्रो अस्पतालको कुरा गर्दा अहिले क्यान्सरका बिरामीको त्यति धेरै रस पनि छैन, तर थोरै बिरामी अहिले पनि छैनन् ।
म पहिले यो अस्पतालमा सुरु गर्दा नेपालमा धेरै अस्पतालहरू थिएनन् । चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र काठमाडौंको वीर अस्पतालमा मात्र क्यान्सरको उपचार गरिन्थ्यो । वीर अस्पतालमा बिरामीको निकै चाप हुन्थ्यो । तर, आजभोलि क्यान्सर रोगको उपचार हुने अस्पतालको संख्या बढेको छ भने निजी अस्पतालले पनि राम्रो सेवा दिन थालेका छन् । जसका कारण वीर अस्पतालमा केही चाप घटेको छ । पहिलेको भन्दा चाप रेडियशनमा कम छ तर, पालो भने बैशाखसम्म पुगिसकेको छ । यो राम्रो होइन । क्यान्सर लागेको बिरामीलाई चाँडै उपचार दिनुपर्ने हुन्छ । केही क्यान्सर छ जसलाई अलि ढिलो गरेपनि फरक पर्दैन । मुख र फोक्सोको क्यान्सरको उपचार जतिसक्दो चाँडो गर्नुपर्छ । यस्तो खालको बिरामीको लागि हामीलाई नयाँ मेशिनको तुरुन्त आवश्यकता परेको छ ।
क्यान्सर यही कारणले लाग्छ भनी किटान गर्न सकिने अवस्था अहिलेसम्मै पनि छैन । तर अन्दाज भने गर्न सकिन्छ । जस्तै आजभन्दा २५–३० वर्ष अगाडि पाचन प्रणालीमा अहिले जस्तो क्यान्सरको समस्या थिएन । त्यो बेला अहिले जस्तो खानेकुराहरू बाहिरबाट आयात पनि हुँदैनथ्यो । जब बाहिरबाट खानेकुरा आयात गरेर खान सुरु गरियो त्यसपछि यो क्यान्सर देखिन थाल्यो । त्यस्तै नेपालमा चुरोट सुर्तीको सेवन बढ्न थालेसँगै फोक्सोको क्यान्सर पनि बढ्दै छ, मुखको क्यान्सर बढ्दै छ । कुनै क्यान्सरको कारण के हो भन्ने नै थाहा हुँदैन ।
क्यान्सरका चरण
क्यान्सर लागेका बिरामी उपचारका लागि अस्पतालमा पुग्ने भनेको स्टेज थ्री वा फोरमा हो । त्योभन्दा अगाडि प्रायः बिरामी अस्पताल पुग्दैनन् । कतिपय क्यान्सर रोगमा कुनैपनि लक्षण देखिँदैन । लक्षण नदेखिँदा कोही पनि व्यक्ति अस्पताल पुग्दैनन् । जब खोकी लाग्न थाल्छ, टाउको दुख्न थाल्छ वा ढाड दुख्न थाल्छ अनि अस्पताल पुग्दा स्टेज तेस्रो, चौथोमा पुगिसकेको हुन्छ । फोक्सोमै भयो भने पनि फैलिसकेको हुने, ब्रेनमा पुगिसकेको हुने हुन्छ । ढाड किन दुख्यो भनी एक्सरे गर्दा त्यहाँ ढाड भाँच्चिसकेको हुन्छ । किन भनेर हेर्दा क्यान्सर भइसकेको हुन्छ । स्टेजमा थ्रीमा आउँदा उसको निको हुने चान्स उपचार गर्दा ३० प्रतिशत हुन्छ भने चौथो स्थानमा पुगेका बिरामीको ५ प्रतिशत मात्र उपचार हुन्छ ।
क्यान्सरको आफ्नै संसार हुन्छ । कुनै क्यान्सर हामीले गरेको उपचारमा तुरुन्त काम गर्छ । बिस्तारै हराउँछ पनि कतिपय जति उपचार गर्दा पनि राम्रो हुँदैन । यो रोग निकै खर्चालु पनि हुन्छ । ज्यान जोगाउन पनि गाह्रो हुन्छ । स्टेज थ्री, फोरमा आएपनि केही हदसम्म सर्वाइभल बढाउने र बाँचिएन भने पनि जुन पीडा हुन्छ त्यो कम बनाउन सकिन्छ । यस्तो अवस्थामा आए पनि प्यालिएटिभ केयर गर्न सक्छौँ भने कतिपय व्यक्ति स्टेज फोरमा पुगेर पनि निको भएको बिरामी पनि हुनुहुन्छ ।
नेपालमा उपचार
आजभोलि नेपालमा सबै किसिमको क्यान्सरको उपचार हुन थालेको छ । पहिले चिकित्सक पनि कम थिए, उपकरण पनि थिएन । आजभोलि जनशक्ति विकास हुँदै गएको छ । रेडियशन अन्कोलोजी अथवा क्लिनिकल अन्कोलोजीको पढाइ नेपालमै हुन थालेको छ । वीर अस्पतालबाटै ४० जना उत्पादन भइसकेका छन् । म पनि यही अस्पतालमा पढेर यही अस्पतालम सेवा गरिरहेको व्यक्ति हुँ । बाहिरबाट पनि पढेर आइरहेका छन् । तर, यो जनशक्ति अझै यो रोगको लागि पर्याप्त होइन । अर्को कुरा भएको जनशक्ति पनि एकै ठाउँ अथवा काठमाडौं उपत्यकाभित्रै बस्ने चलन छ । उपत्यका बाहिरको कुरा गर्दा अहिले पनि क्यान्सर रोगको उपचारका लागि सबै प्रदेशमा अस्पताल बनिसकेका छैनन् । पूर्वतिर केही अस्पताल सञ्चालनमा आइरहेका छन् भने चिकित्सक पनि बढी हुनुहुन्छ तर पश्चिममा निकै कम छ ।
भरतपुर चितवनभन्दा पर अझै यो सेवा पुगेको छैन । भर्खर नेपालगञ्जमा एउटा क्यान्सर अस्पताल स्थापना भएपनि त्योभन्दा पर सुदूरपश्चिम, कर्णाली प्रदेशसम्म पुग्न सकेको छैन । अहिले पनि नेपालको ठूलो ठाउँमा क्यान्सरको उपचार पुगेको छैन । भएका ठाउँमा पनि राम्रो उपकरण र दक्ष जनशक्तिको अभाव कम छ । अहिलेको अवस्थाअनुसार नेपालमा रेडियशनको करिब ३० देखि ४० वटा मेसिन अनिवार्य छ । तर, अहिले १० वटा जतिमात्र छ । जसका कारण दुरका मान्छेलाई काठमाडौं आएर उपचार गर्न निकै कठिन परिरहेको छ । यसको लागि सरकारले प्रत्येक प्रदेशमा कम्तिमा पनि एउटा क्यान्सर अस्पताल आवश्यक छ । जिल्ला अस्पतालमा पनि क्यान्सरको सामान्य भएपनि सेवा सुरु गर्न आवश्यक छ ।
यसरी बनौं सजग
हामी धेरैको बानी बिरामी नहुञ्जेलसम्म अस्पताल नपुग्ने हुन्छ । लक्षण नदेखिनु र स्क्रिनिङ नगराउनाले पनि धेरै जस्तोलाई यस्तो रोग लागिरहेको हुन्छ । यसको लागि सबैभन्दा महत्वपूर्ण भनेको स्क्रिनिङ नै हो । यसका लागि विभिन्न खालको स्क्रिनिङ गर्नुपर्छ । जस्तै पाठेघरको मुखको क्यान्सर छ कि छैन भनेर हेर्न पाठेघरको मुखको जाँच गर्नुपर्छ । स्तन क्यान्सरको लागि स्क्रिनिङमा जाँदा म्यामोग्राम गर्नुपर्छ । अल्ट्रासाण्ड, एमआरआई पनि गराउन सकिन्छ । पाचन प्रणालीका लागि इण्डोस्कोपी गर्न सकिन्छ, फोक्सोको लागि सिटीस्क्यान गर्न सकिन्छ । कलेजोको लागि अल्ट्रासाउण्ड पनि गर्न सकिन्छ । कतिपय देशमा सरकारले स्क्रिनिङ गर्नैपर्छ भन्ने बाध्यात्मक व्यवस्था गरेको छ ।
साउथ कोरियाको कुरा गर्ने हो भने त्यहाँ यो व्यवस्था छ । यसले गर्दा नागरिकको ज्यान जोगिने सम्भावना धेरै हुन्छ । यसको लागि राष्ट्रले कडाइ गर्नुपर्यो या नागरिक आफै सचेत हुनुपर्यो । सचेतनामूलक कार्यक्रम निकै आवश्यक छ । यसो गर्दा मान्छे सचेत हुँदै जान्छ । यसमा धेरै समस्या छ । कतिपय व्यक्ति क्यान्सर भन्ने बित्तिकै आत्तिने हुन्छ । कुनैपनि रोग लाग्दा आत्तिनु हुँदैन । उपचार सम्वभ छ । कतिपय रोग उपचारपछि निको हुन्छ भने कतिपय निको नभएपनि कम पक्कै हुन्छ । धेरै भ्रमहरू पनि छन् । कतिपय व्यक्तिलाई औषधीले पनि काम गर्दैन । अहिले नेपालमा क्यान्सर लागेर निको भएकाहरू पनि धेरै छन् ।
सरकारले पनि एक लाख रुपैयाँ सहयोग गरिरहेको छ । वीर अस्पतालमा आएका बिरामीको एक लाख रुपैयाँमा उपचार हुन्छ । रेडियशनको लागि खर्च छैन भने कतिपयको हकमा अस्पतालले मिलाउने गरेको छ भने १० प्रतिशत बिरामीले रेडियशन फ्रीमै गरिन्छ । कुनै पनि क्यान्सरको बिरामी वीर अस्पतालमा आयो र उसले पैसा छैन भन्यो भने उपचार नपाएर फर्कनुपर्ने अवस्था हामीले गरेका छैनौँ । तर बाध्यता हामीसँग पनि छ । हामीसँग एउटा मात्र रेडिशेयन मेसिन छ जसका कारण बिरामीले उपचारको लागि पालो कुर्न परेको छ । यसका लागिथ हामीले सरकारसँग अर्को एउटा मेसिनको लागि माग गरेका छौँ । अर्को मेसिन आयो भने सबै बिरामीको उपचार समयमै गराउन सकिन्छ ।
सरकारले गर्नुपर्ने काम
क्यान्सर रोग नेपालमा सबैभन्दा बढी जोखिम रोगमध्येको एक हो । यसको मृत्युदर पनि बढिरहेको छ । नेपाल सरकारले यसका लागि ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४-२०३० ’ तयार पारेको छ । जसमा रोग लाग्नेको संख्या कम गर्न वा यसबाट हुने मृत्युदर कम गर्न के गर्ने भन्ने रणनीति बनाइएको छ । जसमा सातवटै प्रदेशमा क्यान्सर अस्पताल स्थापना गर्नेदेखिका विभिन्न ९ वटा रणनीति तयार पारिएको छ ।
यो रणनीतिअनुसार काम गर्न सक्यो भने अबको ३०-४० वर्षपछि क्यान्सर कम गर्न सकिन्छ । यस्तै रणनीति चलाएको पश्चिमी देशमा अहिले क्यान्सर कम गर्दै गएको छ । क्यान्सर लागे पनि मर्नेको संख्या त्यहाँ निकै कम छ । किनकि पहिले नै यो रोगसम्बन्धी जानकारी दिने वा नियमित जाँच गर्न लगाउने काम त्यहाँ भइरहेको छ । अब नेपालमा पनि यस्तै सचेतनामूलक कार्यक्रम गर्न निकै आवश्यक छ ।
अहिले विकसित देशमा क्यान्सर लागेर मर्नेको संख्या निकै कम हुँदै जान थालेको छ तर नेपालमा भने बढ्दै जान थालेको छ । नेपालमा सन् २०२० को तथ्यांकअनुसार हरेक वर्ष झण्डै २० हजार क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् भने यसमा १४ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो तथ्यांकले क्यान्सर भएका बिरामीमध्ये ६५ देखि ७० प्रतिशतको मृत्यु हुने गर्छ । यो भयावह अवस्था हो । कुन–कुन ठाउँमा के गर्न सकिन्छ, प्रादेशिक अस्पतालमा के गर्न सकिन्छ, क्यान्सर अस्पताल नयाँ बनाउन नसकेपनि भएका अस्पतालहरूमा राम्रा उपकरणहरू राखेर आवश्यक चिकित्सक पूर्ति गर्ने लक्ष्य राखिएको छ ।
ध्यान दिनैपर्ने विषय
सबैभन्दा पहिले हामीले खानपानमा ध्यान दिऔँ । निरोगी रहनको लागि चुरोट नखाऔँ । कुलतबाट टाढा रहन सिकौँ, हरेक दिन शारीरिक व्यायाम गरौँ । सकिन्छ भने योगा गरौँ, हरियो सागपात, फलफुल प्रशस्त मात्रामा खाऔँ । यदि वजन बढी छ भने त्यो घटाउनुपर्छ । यति गर्दागर्दै पनि कतिपयलाई क्यान्सर लाग्न सक्छ । यसको लागि ५० वर्ष पुगेपछि एक पटक क्यान्सर अस्पतालमा गएर अनिर्वार्य जाँच गरौँ ।
यदि आफ्नो परिवारमा कलिलै उमेरमा कसैलाई क्यान्सर लागेको छ भने आफू पनि सचेत भएर जुनसुकै उमेरमा भए पनि सोध्न जरुरी हुन्छ । किनकि यो वंशाणुगत कारणले पनि लाग्छ । कतिपय बिरामीहरू आजभोलि उपचारको लागि अन्य विधामा जानुहुन्छ । खर्च पनि धेरै गरेर अन्त्यमा ठूलो ट्युमर बोकेर हामीकहाँ नै आउनुहुन्छ । अन्य विधामा जानुभन्दा अगाडि पहिले एक पटक चिकित्सकको सल्लाह चाहिं लिनै पर्छ ।
(क्यान्सररोग विशेषज्ञ, प्रा. डा. विवेक आचार्य वीर अस्पतालको ओन्कोलोजी विभाग प्रमुख हुन् । )
Copyright © 2025 Bikash Media Pvt. Ltd.