२०८१ माघ २२ गते ११:२७ विकासन्युज
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र गौरादह नगरपालिका, झापाबीच रोजगारमुखी सीप विकास तालिम कर्जा सुरक्षण योजना, २०८१ बमोजिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
समझदारी पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नगरपालिकाको तर्फबाट नगर प्रमुख छत्रपति सुबेदीले हस्ताक्षर गरेका हुन् । साथै, सम्झौतामा गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा र कोषका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
यस समझदारी पत्रमा हस्ताक्षर भएसँगै, गौरादह नगरपालिका क्षेत्रका युवाहरुलाई सूचना प्रविधि लगायतका रोजगारमुखी सीप विकास तालिम प्रदान गर्न कर्जा सुरक्षण योजना शुरु गरिनेछ । यस योजनाअन्तर्गत, सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित कर्जा बैंक र वित्तीय संस्थाबाट बिना धितो सुलभ तरिकाले प्रवाह हुनेछ, जसको सुरक्षण निक्षेप तथा कर्जा सुरक्षण कोषले गर्नेछ ।
नगरपालिकाले तालिमको लागि लिएको कर्जाको आधारमा कोषलाई सुरक्षण रकम योगदान गर्ने व्यवस्था रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.