२०८१ माघ ८ गते २१:२२ लक्ष्मण लम्साल
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पन्थीलाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले मसिंर ६ गते सीईओको दरखास्त माग गर्दै सूचना सार्वजनिक गरेको थियो । सीईओ बन्नका लागि आठ जनाले आवेदन दिएका थिए । कम्पनीको पदपुर्ति समितिले चार जनाको नाम सर्टलिष्टमा राखेको थियो ।
पन्थीसँगै महेश रिमाल, राजुनाथ खनाल र रामदेव यादव सर्टलिष्टमा परेका थिए । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पन्थी सीईओ बनेका हुन् ।
तत्कालीन बीमा संस्थान २०८० सालको कात्तिकमा कम्पनीमा परिणत भएको थियो । त्यससँगै कम्पनी व्यवस्थापकीय नेतृत्वविहीन भएको थियो । कम्पनीको कार्यवाहक सीईओको रुपमा कम्पनीका नायब कार्यकारी अधिकृत (डीसीईओ) महेश रिमालले काम गर्दै आएका थिए ।
पन्थी बैंकरका रुपमा परिचित छन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका पन्थीसँग बैंकिङ क्षेत्रमा दुई दशक काम गरेको अनुभव छ । वि.सं २०६१ सालमा उनी बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।
वि.सं २०६१ सालमा नेपाल बैंकको उपप्रबन्धक पदबाट करिअर सुरु गरेका उनले सोही बैंकमा २० वर्षसम्म काम गरे । नेपाल बैंकमा उपप्रबन्धक, प्रबन्धक, वरिष्ठ प्रबन्धक हुँदै मुख्य प्रबन्धक भएर काम गरेका थिए । सो अवधिमा उनले बैंकको विभिन्न विभागमा रहेर काम गरे ।
अर्घाखाँचीको छत्रदेवमा जन्मिएका पन्थीले स्कुलसम्मको पढाइ गृहजिल्लामै गरे । उनले १२ कक्षासम्मको पढाइ भैरहवाबाट र स्नातकसम्मको पढाइ पोखराबाट पुरा गरे । पोखराको पीएनसी क्याम्पसबाट बीबीएसको अध्ययन पुरा गरेर उनी एमबीएस अध्ययनका लागि काठमाडौं आएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबीएस पास गरेका उनीसँग वित्तीय क्षेत्रको राम्रो ज्ञान छ ।
नवनियुक्त सीईओ पन्थीले नयाँ चुनौती सामना गर्न बैंकिङ क्षेत्रबाट बीमामा प्रवेश गरेको धारणा राखे । बीमा संस्थान कम्पनीमा परिणत भएसँगै कम्पनीका रुपमा उभ्याउन धेरै कामहरु गर्न बाँकी रहेको बताउँदै उनले ती कामहरु आफ्नो नेतृत्वमा सम्पन्न गर्ने बताए ।
‘कम्पनीको बाँकी रहेको लेखा परीक्षणको काम गर्छु, नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि तोकेको पुँजी ५ अर्बको चुक्ता पुँजी पुर्याउने मेरो पहिलो प्राथमिकता रहन्छ, त्यसका लागि आईपीओमा पनि जान सकिन्छ,’ उनले विकासन्युजसँग भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.