जिल्लामा सबैभन्दा धेरै मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँची उत्पादन गर्ने गरेका छन् । यहाँको वडानम्बर ५ सन्जापुका स्थानीयले मात्र यस वर्ष ६ हजार सात सय केजी अलैँची बिक्री गरी एक करोड ५० लाख आम्दानी गरेको सन्जापु अलैँची कृषक समूहका अध्यक्ष कामकाशि गुरुङले बताए । गाउँका करिब ६० घरधुरीले लगाएको अलैँचीखेतीबाट उक्त आम्दानी भएको हो ।
भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँचीको मूल्य नपाएको गुनासो भए पनि यस वर्ष केही राहत महसुस गरेको किसानहरुको भनाइ छ ।
जिल्लामा सात सय ५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि तीन सय ७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होँलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ ।
जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको हो । रासस