२०८१ माघ ७ गते १०:०३ लक्ष्मण लम्साल
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालमा विद्युतीय सावरीसाधन (ईभी)को आयात र व्यापार उल्लेख्य रूपमा वृद्धि भएको छ । गत भदौमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको नाडा अटो शो २०२४ मा पनि ईभीकाे वर्चश्व रह्यो । नेपालमा आईसीई इन्धन गाडीभन्दा धेरै ईभी भित्रने क्रम जारी नै छ । त्यसका लागि बिक्रेता कम्पनीहरूले ईभीको ईकोसिस्टम डेभलपमेन्टमा पनि आक्रामक रूपले काम गर्दै आएका छन् ।
नेपाल विद्युत प्राधिकरणले पनि विद्युतीय सवारीलाई प्रोत्साहन गर्नका निम्ति विभिन्न स्थानमा ६० भन्दा धेरै चार्जिङ स्टेशन निर्माण गरिसकेको अवस्था छ । अझै देशभरका विभिन्न स्थानमा ठूलो मात्रामा चार्जिङ स्टेशन निर्माणको तयारीमा प्राधिकरण लागि परेको छ।
एक हिसावले भन्नुपर्दा नेपाल ईभीमय भएको भान हुन थालेको छ । तर यो ईभीमय केवल चार पांग्रेले मात्र बनाएको छ । अर्थात नेपालमा चार पांग्रे ईभी ठुलो मात्रामा आयात तथा बिक्री भएपनि तुलनात्मक रूपमा दुई पांग्रे ईभीको आयात र बिक्री सुस्त छ ।
हाल दुई पांग्रे साधनमा ईभीको हिस्सा केवाल ५ प्रतिशतमा सीमित रहेको छ ।नेपालमा सरकारले ईभीको प्रोत्साहनका लागि विगतमा विभिन्न करमा छुट दिएको अवस्था छ । त्यसको फाइदा उठाउँदै चार पांग्रेले देश ईभीमय हुदा दुई पांग्रे ईभीको व्यपार किन बढ्न सकेन ? दुई पांग्रे ईभीको व्यापार बढाउन सरकार र सरोकारवाला निकायले के-कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ? दुई पांग्रे ईभीका लागि देशमा कस्तो ईकोसिस्टम रहेको छ ? यी लगायतका विषयमा नेपालमा एथर ब्राण्डको ईभी स्कुटर आयात तथा बिक्री गर्दै आएको वैद्य इनर्जी प्रालिका बजार प्रमुख प्रदिप अधिकारीसँग विकासन्यूजले गरेको कुराकानीको सम्पादित अंश :
हाल नेपालमा दुई पांग्रे विद्युतीय सवारीसाधनको बजार कस्तो छ ?
गत वर्षहरूको तुलनामा दुई पांग्रे सवारीको बजार केही हदसम्म सुधार भएको छ । दुई पांग्रे ईभीको बजार पनि बिस्तारै बढ्दै गएको अवस्था छ । दुई पांग्रे सवारीमा ईभीको हिस्सा ४ देखि ५ प्रतिशत रहेको छ । तर, बढ्दो क्रममा रहेको छ ।
बजारमा केही विश्वासिला ब्राण्डहरू भित्रिएको अवस्था छ ।
आजभन्दा ३ वर्ष अघि दुई पांग्रे ईभीको आयात अत्यधिक भएको थियो । धेरै चाइनिज ब्राण्ड थिए । वर्षमा १० हजार यूनिटसम्म आयात भएको अवस्था थियो । केही ब्राण्डहरूले बिक्री गरे तर सर्भिस र पार्ट्समा ध्यान दिएनन् । त्यस प्रकारका ब्राण्ड बिस्तारै पलायन हुँदै गए अनि नयाँ र विश्वासिला ब्राण्डहरू भित्रिए । यसले दुई पांग्रे ईभीमा जनताको विश्वास बढदै गएको छ ।
नेपालमा दुई पांग्रे ईभीको भविश्य कस्तो छ ?
भविष्यमा दुई पांग्रे सवारीमा ईभीको संख्या बढदै जानेछ । तर, चेतना विस्तारमा भने समय लाग्ने देखिन्छ । दुई पांग्रे ईभीको ईकोसिस्टममा अलिक ध्यान दिन जरुरी छ ।
दुई पांग्रेमा चार्जिङ स्टेशन, स्पेयर पार्ट्स, सर्भिसको विषय सहज तरीकाले उपलब्ध गराउने ब्राण्डहरूकाे कमी थियो, तर अब विश्वासिला ब्राण्डहरूले उक्त विषयमा ध्यान दिएका छन् । पूर्वाधार विस्तार गर्दै आएका छन् । जसले जनताको विश्वास बढ्दै गएको छ । यसले गर्दा दुई पांग्रे बजार ईभीतिर लोभिनेछ ।
दुई पांग्रे ईभीमा एथर कस्तो ब्राण्ड हो, कतिको विश्वासिलो ब्राण्ड हो ?
एथर एक भारतीय ब्राण्ड हो । हाम्रो नारा नै छ- मेड ईन ईण्डिया, मेड फर नेपाल ।’ नेपाल धेरैजसो भूभाग पहाडी भएकाले यसका लागि एथर निकै भरपर्दो छ । यो स्मार्ट, भरपर्दाे र टिकाउ पनि छ ।
२०२३ को नोभेम्बरमा हामीले एथर भित्र्यायौं । त्यस समयदेखि नै हामीले पूर्वधार निर्माणमा ध्यान दियाैं । फास्ट चार्जिङ स्टेशन, स्पेयर पार्ट्स, बिक्रीपछिको सर्भिस सेवा उपलब्ध गराएका छौं । जसले आमजनताको मन एथर ब्राण्डले जितिरहेको छ ।
नेपालमा एथर भित्रिएकाे एक वर्षमा हामीले ८ सय भन्दा धेरै यूनिट डेलिभरी गरिसकेका छौं । १६ वटा चार्जिङ स्टेशन निर्माण गरेका छौं । हामीले दुई पांग्रे ईभीको सबैभन्दा ठूलो सर्भिस सेन्टरको विकास गरेका छौं । अब हाम्रो ध्यान सर्भिस सेन्टर, सेल्स, स्पेयर पार्ट्स र चार्जिङ स्टेशन विस्तारमा रहनेछ ।
एथरका ३ वटा ब्राण्डहरू नेपालमा उपलब्ध छन् । ४५० एक्स एचआर, ४५० एक्स एलआर र ४५० एस । जुन ३ लाख ५० हजारदेखि ४ लाख ४० हजार रुपैयाँसम्म मूल्य पर्दछ ।
उपभोक्तालाई एउटै मूल्य भएको आईसीई इन्धन दुई पांग्रे कि ईभी किन्दा फाइदा ?
यसमा खासगरी ईभी वा आईसीई किन्दा फाइदा भनेर सर्फेसमा भन्न सकिने अवस्था छैन । कुन ब्राण्ड किन्ने हो त्यसमा भर पर्दछ ।
केही वर्षअघि नेपाल भित्रिएका चाइनिज ब्राण्डहरूमा दुई-तीन वर्षमा ब्याट्री परिवर्तन गर्नुपर्ने हुन्थ्यो । त्यस प्रकारका ईभी किन्नुभन्दा आईसीई ब्राण्ड नै किन्दा फाइदा हुन्छ । तर, एथरजस्ता केही विश्वासिला ब्राण्डहरू पनि नेपाल भित्रिएका छन् । एथरले ब्याट्रीमा ५ वर्षको ग्यारेन्टी दिएको छ । तर, ८ वर्षसम्म ब्याट्रीमा समस्या आएको पाएका छैनौं ।
आईसीईभन्दा यस एथरजस्ता विश्वासिला ईभी ब्राण्ड किन्दा उपभोक्तालाई फाइदा हुन्छ ।
ब्याट्री रिसाइकल वा व्यवस्थापनको बारेमा के योजना बनाउनु भएको छ ?
हामीले ब्याट्रीमा ५ वर्षको ग्यारेन्टी दिएपनि ८ देखि १० वर्षसम्म ब्याट्रीमा खासै समस्या आएको हामीले पाएका छैनौं । ८ वर्ष पछिको योजनामा ब्याट्रीको रिसाइकलको बारेमा हामीले अध्ययन गर्दैछौं ।
ब्याट्री रिसाइकल र रिस्टोरेशनको लागि छुट्टै कम्पनी खडा गर्नेबारे पनि छलफल भइरहेको छ । हामी कम्पनी नै खोलेर रिसाइकल, रिस्टोरेशनको काम गर्न सक्छौं ।
नेपालको दुई पांग्रे ईभीमा एथरको हिस्सा कस्तो छ ?
अहिलेको अवस्थामा दुई पांग्रे सवारीमा ईभीको हिस्सा नै सानो छ । त्यसमध्ये एथर पहिलो नम्बरमा छ । दुई पांग्रे ईभीको व्यापार नै सानो भएर डेलिभरी यूनिट कम देखिएला । तर, बिस्तारै बजार बढदै गएपछि हामी आईसीईसँग पनि प्रतिस्पर्धा गर्न सक्छौं भन्ने लागेको छ । यो एक वर्षमा ८ सय भन्दा धेरै एथर डेलिभरी गरेका छौं । आउँदो वर्षमा ३ हजार बढी यूनिट डेलिभरी गर्ने योजना छ ।
एथरको बजार विस्तार र वृद्धिका लागि के कस्तो योजना बनाउनु भएको छ ?
ढिलो चाँडो मानिसहरूलाई ईभीमा कन्भर्ट गर्नुपर्ने अवस्था छ । नेपालमा नै उत्पादन भएको ऊर्जा प्रयोग गरेर सुलभ मूल्यमा नै मानिसले सवारी चढनु पर्छ भन्ने मान्यतामा हामीले काम गर्दैछौं ।
हाल आईसीई ब्राण्डका सवारीले जसरी सर्भिस पाउन सहज भएको छ, ईभीलाई पनि त्यसरी नै सहज सर्भिस उपलब्ध गराउनु पर्दछ ।जसका लागि हामीले यो वर्षका लागि काठमाडौं उपत्यकामा नै ३ वटा सर्भिस सेन्टरको प्लानिङ गरेका छौं । उपत्यका बाहिर चितवन, पोखरा, बुटवल, इटहरी, विराटनगर, दमक, बिर्तामोड, नेपालगञ्ज, धनगढीमा पनि हामीले सर्भिस सेन्टर विस्तार गर्ने योजना बनाएका छौं ।
जहाँ पनि हामि शोरुम राख्छौं त्यस क्षेत्रमा चार्जिङ स्टेशन, सर्भिस सेन्टर र स्पेयर पाटर्स डिलर पनि विस्तार गछौं ।
दुई पांग्रे ईभीको बजार विस्तार गर्न सरकार, व्यवसायी लगायत सरोकारवालाले के कस्तो भूमिका निर्वाह गर्नु पर्दछ ?
व्यवसायीले कुने पनि ब्राण्ड लिएर आउँछ भने त्यसले उपभोक्ताको हितलाई मध्यनजर गर्नु पर्दछ । सर्भिस, स्पेयर र चार्जिङ स्टेशनको पार्टमा काम गर्नु पर्दछ । सरकारले अलिक लचकता अपनाएर दुई पांग्रे ईभीलाई प्रोत्साहन गर्नुपर्ने अवस्था छ । दुई पांग्रे ईभीका लागि सरकारले हालसम्म कुनै पनि चार्जिङ स्टेशन निर्माणको योजना बनाएको छैन । चार्जिङ गर्ने पोर्टहरू पनि फरक-फरक ब्राण्डहरूको फरक-फरक छ ।
चार्जिङ पोर्टहरू एउटै हुनुपर्ने नियम लागू गरेको खण्डमा एउटा ब्राण्डले निर्माण गरेको चार्जिङ स्टेशनमा सबै ब्राण्डका सवारीले चार्ज गर्न सकिने हुन्छ । यसले गर्दा थोरै पूर्वाधारले पनि धेरै सवारीलाई चल्न सहज हुन्छ ।
अहिले एउटा ब्राण्डको चार्जिङ स्टेशनले त्यही ब्राण्डको साधनमात्रै चार्ज गर्न मिल्छ । यो दुइपांग्रेमा मात्रै हो । चार पांग्रेमा यस्तो समस्या छैन । यो समस्याको समाधान भएमा मात्रै पनि केही हदसम्म दुई पाग्रे ईभीको बजार बढ्छ । यसैगरी, विद्युत प्राधिकरणले दुई पांग्रेका लागि पनि चार्जिङ स्टेशनहरू निर्माण गरिदिनु पर्यो । यसैगरी, विदेशमा ईभीलाई प्रोत्साहन गर्न सरकारले अनुदान दिने गर्दछ । तर, नेपाल सरकारले त्यसो गरेको छैन । त्यसो नहुँदा विदेशमा ईभीको मूल्य र नेपालमा त्यसको मूल्य तुलना गर्दा नेपालमा केही महँगो पर्दछ । यी विषयमा सरकारले ध्यान दिनु पर्दछ ।
ईभीमा केही समस्या आएको खण्डमा स्वयं चालकलाई पनि त्यस विषयमा ज्ञान नहुने र प्राविधिक पनि नपाइने समस्या छ । यो समस्या कसरी समाधान गर्न सकिन्छ ?
यो विषय समस्याको विषय नै हो । हामीले पनि एथर नेपाल ल्याउँदा त्यस विषयमा जानकार भएका प्राविधिकहरू पाउन कठिन भएको थियो । त्यसैले भारतबाट नै प्राविधिकहरू यहाँ ल्याएका थियाैं । भारतमा लगेर धेरैलाई तालिम पनि लिने अवसर पनि हामीले जुराएका थियौं । अन्य ब्राण्डहरूले पनि यस विषयमा गर्भिर हुनुपर्दछ । वर्कसपहरूलाई पनि केही विषयहरूलाई तालिम दिनुपर्ने अवस्था छ । ताकि सवारीमा समस्या भएर सर्भिस सेन्टर पुग्न नसकेको अवस्थामा नजिकैको वर्कसपमा गएर समस्याको समाधान गरोस् । व्यापकरूपमा तालिम सञ्चालन गर्नुपर्ने जरुरत छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.