डीडीसीले महानगरलाई बुझायो ३२ वर्षको १ करोड २ लाख सम्पति कर

  २०८१ माघ ४ गते १०:२६     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले काठमाडौं महानगरपालिकालाई सम्पति कर बुझाएको छ । डीडीसीले काठमाडौं महानगरपालिकालाई ३२ वर्षदेखिको सम्पत्ति कर बुझाएको हाे ।

महानगरको अनुसार डीडीसीले आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा/सम्पत्ति करको मूल्यांकन गरेर कर दाखिला गरेको हो ।

डीडीसीले २०८१ पुस २८ गतेको मूल्यांकनबमोजिम १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ सम्पत्ति कर बुझाएको महानगरले जनाएको छ । डीडीसीले माघ ३ गते महानगरको वडा २६ कार्यालय लैनचौरमा उक्त सम्पत्ति कर बुझाएको हो ।

डीडीसीसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यावसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरको राजस्व विभागले पत्राचार गरेको थियो । महानगरपालिकाले जारी गरेको राजस्व ऐन २०७५ तथा सालवसाली जारी हुने आर्थिक ऐनले सम्पति करको दररेट तथा संकलन प्रक्रियाको बारेमा व्यवस्था गर्ने गरेको छ । यसअनुसार नक्सापास भएको २ वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गा/सम्पत्ति कर गणना हुने व्यवस्था छ ।