२०८१ माघ १ गते १६:३० विकासन्युज
काठमाडौं । बैंकिङ क्षेत्रमा सबैभन्दा बढी घरकर्जा प्रवाह गर्ने एनआईसी एसिया बैंकले एक महिनामै १ अर्ब बढी ऋण घटाएको छ । बैंकले कार्तिकको तुलनामा मंसिरमा एक अर्ब ११ करोड ८० लाख रुपैयाँ घरकर्जा घटाएको हो । गत कार्तिकमा कुल ५ अर्ब ८ करोड ६० लाख रुपैयाँ घरकर्जा प्रवाह गरेको बैंकले मंसिरमा कर्जा घटाएर ५३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ कायम गरेको हो ।
यस्तै, कुमारी, लक्ष्मी सनराइज, एभरेष्ट, कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) माछापुच्छ्रे, हिमालयन र नेपाल एसबीआई बैंकले पनि घरकर्जा घटाएका छन् । यी बैंकले क्रमशः ५४ करोड ८० लाख, १० करोड २० लाख, ३ करोड ३० लाख, ७ करोड १० लाख, ६ करोड ९० लाख, १ करोड १० लाख, ३ करोड ८० लाख र १० लाख रुपैयाँले घरकर्जा घटाएका हुन् । अन्य बैंकले भने कर्जा बढाएका छन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार ग्लोबल आइएमई बैंकले मंसिरसम्म कुल ३६ अर्ब ६७ करोड, नबिलले २६ अर्ब ८८ करोड, राष्ट्रिय वाणिज्य बैंकले २६ अर्ब ४९ करोड, एभरेष्टले २२ अर्ब ७२ करोड, लक्ष्मी सनराइजले १८ अर्ब ३७ करोड र एनएमबि बैंकले १६ अर्ब २६ करोड रुपैयाँ घरकर्जा प्रवाह गरेको छ ।
यस्तै, प्रभुले १३ अर्ब २६ करोड, सिद्धार्थले १२ अर्ब ९३ करोड, कुमारीले १२ अर्ब ७० करोड, कृषि विकासले ११ अर्ब १६ करोड, सिटिजन्सले १० अर्ब ३३ करोड, नेपाल बैंकले १० अर्ब १४ करोड र सानिमा बैंकले ९ अर्ब १९ करोड रुपैयाँ घर कर्जा लगानी गरेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८ अर्ब ७९ करोड, प्राइम कमर्सियलले ८ अर्ब ३० करोड, एनआईएमबीले ७ अर्ब ५६ करोड, माछापुच्छ्रेले ६ अर्ब ३५ करोड, हिमालयनले ५ अर्ब ४ करोड र नेपाल एसबीआईले २ अर्ब १९ करोड रुपैयाँ घरकर्जा लगानी गरेको छ ।
तीन वर्षअघिकै ब्याजदर
बैंकिङ क्षेत्र घरकर्जामा तीन वर्षअघिकै स्थितिमा फर्किएको छ । २०७८ असोजमा घरकर्जाको ब्याज औसत ९.३१ प्रतिशत थियो । त्यतिखेर कुल २ खर्ब ५७ अर्ब २ करोड ६० लाख रुपैयाँ घर कर्जा प्रवाह भएको थियो । त्यसपछि प्रत्येक महिना निरन्तर बढ्दै गएको ब्याज २०७८ माघमै १०.७४ प्रतिशत पुगेको थियो । जतिबेला कुल २ खर्ब ७९ अर्ब ९८ करोड ५० लाख रुपैयाँ घर कर्जा प्रवाह भएको थियो ।
यस्तै, २०७९ बैशाखमा कुल २ खर्ब ८० अर्ब ६३ करोड ८० लाख रुपैयाँ घरकर्जा प्रवाह भएकोमा ब्याजदर औसत ११.६५ प्रतिशत पुगेको थियो भने २०७९ को साउनमा १२.१० प्रतिशत औसत ब्याजदर पुगेको कुल कर्जाको परिमाण २ खर्ब ८२ अर्ब ७ करोड ३० लाख रुपैयाँ थियो ।
यस्तै, २०७९ को माघमा घरकर्जाको औसत ब्याजदर १३.२१ प्रतिशत पुगेको थियो भने कुल कर्जा २ खर्ब ८२ अर्ब १ करोड २० लाख रुपैयाँ कायम भएको थियो भने २०८० को बैशाखमा पुनः ब्याजदर घटेर औसत १२.८७ प्रतिशतमा झरेर कुल कर्जा पनि १ खर्ब ८१ अर्ब १८ करोड ८० लाख रुपैयाँमा झरेको थियो ।
२०८० को साउनमा ब्याजदर थप घटेर ११.९८ कायम हुँदा कुल कर्जा बढेर २ खर्ब ८८ अर्ब ६५ करोड २० लाख रुपैयाँ कायम भएको थियो । सोही वर्षको चैतमा ब्याजदर थप घटेर १०.९१ प्रतिशत कायम भएपछि त्यसपछि निरन्तर ब्याज घट्दै गएको देखिन्छ ।
यस्तै, २०८१ को साउनमा कुल घरकर्जा ३ खर्ब १६ अर्ब रुपैयाँ कयम हुँदा औसत ब्याजदर भने १०.१५ प्रतिशत र भदौमा कुल कर्जामा ३ खर्ब १७ अर्ब रुपैयाँ पुग्दा औसत ब्याजदर ९.९३ प्रतिशतमा झरेको थियो । यो वर्ष पनि प्रत्येक महिना निरन्तर ब्याजदर घटिरहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
यस वर्षको असोजमा कुल ३ खर्ब १९ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा ब्याजदर ९.७१ प्रतिशत, कार्तिकमा कुल ३ खर्ब १९ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा औसत ब्याजदर ९.४२ प्रतिशत र मंसिरमा कुल ३ खर्ब १९ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह हुँदा औसत ब्याजदर ९.३१ प्रतिशत कायम भएको छ । जुन ब्याजदर तीन वर्षअघिको बराबर हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.