एनसेलको आम्दानी ३४ अर्ब र लाभांश ७० प्रतिशत, २७ अर्ब रहेको ऋण २२ अर्बमा झार्‍यो

  २०८१ पुष २८ गते ११:५५     विकासन्युज

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको व्यापार निरन्तर घट्दै गएको छ । सार्वजनिक तथ्यांकअनुसार कम्पनीको आम्दानी पछिल्लो चार वर्षमा निरन्तर घट्दै गएको देखिएको हो ।

सन् २०२५ को पहिलो त्रैमासमा यस कम्पनीको अपरिष्कृत सञ्चालन आम्दानी ८ अर्ब ३० करोड ४० लाख रुपैयाँ देखिएको छ । यस्तै, सन् २०२४ को अपरिष्कृत सञ्चालन आम्दानी ३४ अर्ब ६ करोड ८० लाख र सन् २०२३ मा ३७ अर्ब ४४ करोड २० लाख र सन् २०२२ मा ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ रहेको छ । एनसेलको आम्दानी प्रत्येक वर्ष घटिरहेको देखिन्छ ।

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार मोबाइल फोन सेवाको प्रयोग घट्दै जाँदा र मोबाइल डाटाको प्रयोग बढ्दै जाँदा आम्दानी घटेको हो । पछिल्लो समयमा फेसबुक मेसेन्जर, भाइबर, ह्वाट्स एप लगायत सामाजिक सञ्जालको प्रयोग बढेसँगै मोबाइल फोन सेवाबाट प्राप्त हुने आम्दानीको आकार दूरसञ्चार सेवा प्रदायकको आम्दानीमा असर परिरहेको छ ।

विगतका तीन आर्थिक वर्षमा औसत ८३ प्रतिशत लाभांश वितरण गरेको एनसेलले गत आर्थिक वर्षमा भने ७० प्रतिशत मात्रै वितरण गरेको बताइएको छ ।

स्पाइस नेपाल प्राइभेट लिमिटेडको रूपमा सन् २००१ मा दर्ता भएको यस कम्पनीले पहिलो निजी क्षेत्रको जीएसएम टेलिकम अपरेटरका रूपमा मेरो मोबाइल ब्रान्ड नाम अन्तर्गत सन् २००५ को सेप्टेम्बरदेखि व्यावसायिक सञ्चालन सुरु गरेको थियो । त्यसपछि सन् २००८ को सेप्टेम्बरमा युरोपियन टेलिकम जायन्ट टेलियासोनेराले कम्पनीमा बहुमत सेयर लिएर सन् २०१० को मार्चमा यसको ब्रान्ड नाम परिवर्तन गरी एनसेल र कम्पनीको नाम परिवर्तन गरी एनसेल प्राइभेट लिमिटेड राखिएको थियो ।

सन् २०१६ अप्रिल १२ मा यो कम्पनी मलेसियन कम्पनी एक्सियाटाको स्वामित्वमा गयो । यस कम्पनीले एनसेलको ८० प्रतिशत सेयर खदिर गरेको थियो । बाँकी २० प्रतिशत सेयर नेपालकै सुनिभेरा क्यापिटल भेन्चर प्राइभेट लिमिटेडसँग थियो । त्यसपछि फेरि कम्पनीको नाम परिवर्तन गरी एनसेल एक्सियाटा लिमिटेड राखिएको थियो । सन् २०२० अगस्ट ३ मा यो पब्लिक लिमिटेड कम्पनीमा परिणत गरियो ।

सन् २०२३ को डिसेम्बरमा एक्सियाटाले रेनोल्ड्स होल्डिङ लिमिटेडको आफ्नो सतप्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री ग¥यो । तर, यो सेयर स्थानान्तरणमा हुन सकेको छैन । सरकारले स्वीकृति दिएको छैन । स्पेक्ट्रलाइट यूके लिमिटेडका सेयरधनी सतिशलाल आचार्य हुन् । उनी नेपाली मूलका सिंगापुरेली नागरिक हुन् ।

इक्रा नेपालका अनुसार एनसेलले २२ अर्ब ६० करोड रूपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । त्यसमध्ये १० अर्ब ६० करोड दीर्घकालिन र १२ अर्ब रुपैयाँ अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । यसअघि कम्पनीले २७ अर्ब २२ करोड ५० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको थियो । कम्पनीले यो बिचमा ४ अर्ब ६२ करोड ५० लाख रुपैयाँ कर्जा घटाएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि एल ए र अल्पकालीन कर्जाका लागि ए वानको रेटिङ पाएको छ ।