२०८१ पुष २६ गते २२:११ विकासन्युज
काठमाडौं । कमलादीमा स्काईवार्क टावर सञ्चालन गर्दै आएको वोन्डर्स नेपाल प्रालिले सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ । सर्वसाधारणलाई सेयर बेच्न कम्पनीको प्रालि संरचना परिवर्तन गरी लिमिटेड संरचनामा लैजाने निर्णय पनि कम्पनीले गरेको छ ।
शुक्रबार सम्पन्न सातौं वार्षिक साधारण सभाबाट कम्पनीलाई पब्लिक लिमिटेड बनाउने र सर्वसाधारणलाई सेयर बिक्री गर्ने निर्णय भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । यद्यपि कम्पनीका संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीले कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने सोचेर प्रस्ताव मात्र गरिएको बताए ।
‘सेयर निष्कासनका लागि धेरै कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत पाउनुपर्छ । त्यसको लागि लामो समय लाग्छ,’ उनले भने ।
पछिल्लो समय घाटामा गएका कम्पनीहरूले सेयर सर्वासाधारणमा जारी गर्ने र संस्थापकहरूले सेयर बेचेर कम्पनी छोड्ने प्रवृति बढ्दै गएको छ । तर स्काईवाक कम्पनी नाफामा रहेको संस्थापक अधिकारीले दावी गरे । ‘शुक्रबार सम्पन्न साधारण सभाले सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ । हामी नोक्सानमा छैनौं,’ उनले भने ।
साधारण सभाले कम्पनीको आयव्यव पास गरेको जनाएको छ तर वित्तीय विवरण सार्वजनिक गरिएको छैन । ‘वोन्डर्स नेपाल प्रालि हो । हाम्रो आयव्यव सार्वजनिक गर्नु पर्दैन । कर कार्यालय, कम्पनी, कार्यालय लगायत सरकारी अफिसमा आयव्यव बुझाएका छौं । कम्पनीले राम्रो व्यापार गरिरहेको छ,’ उनले भने ।
धरहरा सञ्चालनपछि स्काईवाक टावरमा मानिसहरू चढ्न छोडेको र व्यापार हुन नसकेपछि सेयर बेच्ने निर्णयमा कम्पनी पुगेको विश्लेषण व्यवसायिक जगतमा हुन थालेको छ । प्रतिव्यक्ति एक हजार शुल्क तिर्नु पर्ने स्काईवाक टावरमा हाल मानिसहरू चड्न छाडेका छन् । ‘टिकट मूल्य बढी भयो भन्ने गुनासो उपभोक्ताबाट आएको छ । अहिलेको मूल्य नै एसियाको सबैभन्दा सस्तो हो । तर ग्राहकको भावना बुझेर मूल्य घटाउने विषयमा सोचिरहेका छौं,’ उनले भने ।
शुक्रबारको साधारणसभाबाट कम्पनीको सञ्चालक समितिको पनि पुनर्गठन गरिएको छ । कम्पनीको अध्यक्ष तेजबहादुर सिंह र प्रबन्ध निर्देशक विष्णुहरि पाण्डे बनेका छन् । सिंह उक्त टावर क्षेत्रको जग्गाधनी हुन् । पाण्डे कलेज र एजुकेशन कन्सलटेन्सी क्षेत्रमा सफल व्यवसायी हुन् । पछिल्लो समय उनले बैकिङ र पूर्वाधारका क्षेत्रमा पनि लगानी विस्तार गरेका छन् ।
प्रबन्ध सञ्चालक पाण्डेले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भइसकेकोले त्यसलाई शीघ्र सञ्चालनमा ल्याउने, सोही क्षेत्रमा सिटी बन्जी जम्प, डोम प्रोजेक्ट जस्ता लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउँदै लैजाने योजना रहेका बताए ।
संस्थापक सञ्चालक समितिका सदस्य लोकनाथ अधिकारीका भनाइ थप गरी पुस २७ गते ९ः५० मा अपडेट गरिएकाे छ । सम्पादक
सम्बन्धित समाचार
Copyright © 2025 Bikash Media Pvt. Ltd.