क्रेटा ईभी नेपाल प्रवेशसँगै ५ स्थानमा हुण्डाई ‘चार्ज शप’ खुल्ने

  २०८१ पुष २५ गते १८:४३     विकासन्युज

काठमाडौं । हुण्डाईको क्रेटा ईभी आउँदो फेब्रुअरी महिनामा नेपाल भित्रिँदै छ । नेपालका लागि हुण्डाई ब्राण्डको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी महिनामा क्रेटाको ईभी भर्जन नेपालमा भित्राउन लागेको जनाएको छ ।

कम्पनीले हालसम्म प्री- बुकिङ भने खुलाएको छैन । तर, ग्राहकहरूमा उक्त गाडीप्रति आकर्षण देखिएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले बताए ।

उनका अनुसार ग्राहकहरूले उक्त क्रेटा ईभीको खरिदका लागि अहिले नै रकम कम्पनीलाई भुक्तानी दिन थालेका छन् । ग्राहकहरूले यसबारेमा धेरै सोधपुछ गरिरहेको उनले जानकारी दिए ।

उनका अनुसार भारतमा यो गाडी लन्च भएसँगै नेपाली ग्राहकमा पनि आकर्षण बढेको हो ।

कम्पनीले यो गाडी नेपाल भित्र्याउने भएसँगै पूर्वाधार निर्माणमा पनि आक्रामक ढंगले अगाडि बढेको छ । ग्राहकलाई चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा एकैठाउँमा दिन कम्पनीले ‘चार्ज सप’ निर्माण गर्न लागेको थपलियाले जानकारी दिए ।

चार्ज सफ भनेको चार्जिङ स्टेसनसँगै सर्भिसको पनि सुविधा भएको कम्बो प्याकेज हो । जहाँ गाडी चार्ज गर्ने स्थानमा सर्भिसको पनि सुविधा पाइन्छ । यो नेपालमा नौलो प्रयास हो ।

देशभर ५ स्थानमा चार्ज सप’ बनाउन  पूर्वाधार निर्माणको काम सकिएको महाप्रबन्धक थपलियाले बताए ।

उनका अनुसार महेन्द्र हाइवेमा तीनवटा, एउटा बीपी हाइवेमा र एउटा सिद्धार्थ हाइवेमा  स्थापना गरिनेछ ।

यस्तै, कम्पनीले एसी र डीसी चार्जिङ स्टेसनहरू पनि बिस्तार गर्न लागेको छ । हुण्डाईको एसी चार्जिङ स्टेसन हालसम्म ४५ वटा स्थानमा रहेका छन् । अब थप ५ स्थानमा एसी चार्जिङ स्टेसन स्थापना गर्न लागिएको पनि उनले जानकारी दिए । यसँगै हुण्डाईको एसी चार्जिङ स्टेसनको संख्या ५० पुग्नेछ ।

यसका साथै कम्पनीले देशभर विभिन्न विभिन्न स्थानमा २५ वटा डीसी चार्ज स्टेसन स्थापना गर्ने जनाएको छ ।

यस्तै, कम्पनीले एउटा गाडीबाट अर्काे गाडीमा चार्ज गर्न मिल्ने (भेहिकल टु भेहिकल चार्जिङ सिस्टम) प्रविधि पनि नेपाल भित्र्याई सकेको छ । यसले विशेषगरी पावर बैंकको रूपमा काम गर्दछ ।

भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित २ वटा गाडी नेपाल आइसकेको र त्यसमा जडान गर्ने प्रविधि आउने क्रममा रहेको महाप्रबन्धक थपलियाले जानकारी दिए ।

यो विशेषगरी उद्दार गर्नका लागि प्रयोग गरिने उनले बताए । कुनै पनि हाइवेको बीचमा चार्ज सकिएको अवस्थामा चार्जिङ स्टेसनसम्म पुग्ने सकिँदैन । यस अवस्थामा उक्त भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित गाडी गएर सो गाडीमा चार्ज गराउनेछ ।

यस प्रकारको भेहिकल टु भेहिकल चार्जिङ सिस्टम जडित एउटा गाडी काठमाडौं उपत्यका र एउटा उपत्यका बाहिर रहने थपलियाको भनाइ छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल हुन्डाईको ईभीमा कोना र आयोनिक फाइभ बिक्री वितरण गरिरहेको छ ।