केईको ‘ई-क्यूट जीरोफोर’ ईभी एकैदिन ३० यूनिट डेलिभरी, ३०० किलोमिटर रेन्ज

  २०८१ पुष ११ गते १५:५२     विकासन्युज

काठमाडाैं । केईको ई-क्यूट जीरो फोर ईभी गाडी एकैपटक ३० यूनिट डेलिभरी भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ३० यूनिट गाडी डेलिभरी गरिएको हो ।

जीओ अटोमोबाईल्स प्रालि र लक्ष्मी ई-मोबिलिटी प्रालिले संयुक्त रूपमा केईको ब्राण्डका गाडीहरू नेपालमा आयात तथा बिक्री गरिरहेका छन् । बिहीबार जीओका प्रबन्ध निर्देशक आकाश गोल्छा र लक्ष्मी ई-मोबिलिटीका महाप्रवन्धक दीपक थपलियाले उक्त गाडी खरिद गर्ने ३० जना ग्राहकहरूलाई संयुक्तरूपमा साँचो हस्तान्तरण गरे ।

प्रबन्ध निर्देशक गोल्छाले एकै पटक ३० यूनिट डेलिभरी भएकोमा खुसी व्यक्त गरे । साथै उनले उक्त गाडीमा डीसी चार्जर पनि प्रयोग गर्न सकिने भन्दै टाढा जाँदा छिटो चार्ज गर्न सकिने बताए ।

गाडी हेर्दा सानो साइजको भए पनि ६ फिट उचाइ भएका व्यक्तिलाई बस्नको लागि आरामदायी हुने उनले बताए । उनले भने, ‘मेराे उचाइ ६ फिट हाे । गाडी सानो भएपनि यो गाडी चलाउँदा मलाई अगाडि खुट्टा ठोक्किने समस्या हुँदैन । र पछाडि बस्नेलाई पनि आरामदायी छ ।’उक्त गाडीको जीओ अटोमोबाईल्स र लक्ष्मी ई-मोबिलिटी मध्ये जहाँबाट पनि खरिद गर्न सकिने पनि प्रबन्ध निर्देशक गोल्छाले जानकारी दिए । यस्तै, देशभर केही स्थानमा लक्ष्मी र केही स्थानमा जीओले सर्भिस सेन्टर स्थापना गरेको भन्दै जुनै सर्भिस सेन्टरबाट सर्भिस लिन सकिने पनि उनले स्पष्ट पारे ।

उनले भने, ‘गाडी जीओबाट खरिद गरे पनि लक्ष्मीले राखेको सर्भिस सेन्टरबाट सर्भिस लिन सकिन्छ भने लक्ष्मीबाट खरिद गरे पनि जीओको सर्भिस सेन्टरमा सर्भिस लिन सकिन्छ ।’

यस्तै, उनले आफूहरूले गाडी बिक्रीमा मात्रै नभएर सर्भिसमा पनि ध्यान दिने बताए ।

यस्तै, ई-क्यूट जीरो फोर ईभीको मूल्य २४ लाख ९६ हजार रुपैयाँ रहेको छ । गाडी नेपालमा पहिलो पटक नाडा अटो शो २०२४ मा सार्वजनिक भएको थियो ।

केई गाडी चाइनिज कम्पनी केई अटोको उत्पादन हो । केई अटोमा चेरी अटोमोबाईलको १८ र चाईना सरकारको ८२ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

प्रबन्ध निर्देशक गोल्छाका अनुसार विश्वका ३० भन्दा धेरै देशहरूमा केईका गाडीहरू बिक्री भइरहेका छन् । जसमध्ये सबैभन्दा धेरै रसियामा बिक्री भएको छ ।

यसैगरी, केई अटोको दक्षिण एसियाका व्यवस्थापक शउनले उक्त गाडीहरु हस्तान्तरण समाहरोमा सहभागीता हुन पाउँद धेरै खुसी भएको बताए । यस्तै उनले केईलाई रोजेकोमा ग्राहकहरुलाई धन्यवाद दिईदै भविश्यमा अझ राम्रो र सुविधासम्पन्न गाडीहरु ल्याउने पनि जानकारी दिए । यस्ता छन् ई क्यूट जीरो फोरका विशेषताहरू :

गाडीको मोटरपावर ४० किलोवाट रहेको छ भने २८.०८ किलोवाट क्षमता भएको लिथियम आइरन फोसफेट ब्याट्री रहेको छ । एक पटक फुल चार्ज गरेपछि ३०० किलोमिटर रेन्ज दिने उक्त गाडीको ग्राउण्ड क्लियरेन्स १६५ मिलिमिटर रहेको छ ।

यस्तै, बुट स्पेस २३७ लिटर रहेको छ भने ३६० डिग्रीको क्यामेरा गाडीमा जडान गरिएको छ ।