२०८१ पुष ८ गते १०:३२ विकासन्युज
काठमाडौं । हुवावे नेपालले हुवावे टावर, हट्टिसारमा हुवावे नेपाल प्रदर्शनी केन्द्रको उद्घाटन गर्दै महत्त्वपूर्ण माइलस्टोन तय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रदर्शनी केन्द्रको उद्घाटन गरेका थिए । यो प्रदर्शनी केन्द्रले सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा पछिल्ला प्रवृत्तिहरू र अभ्यासहरूलाई प्रदर्शित गर्ने एक महत्त्वपूर्ण केन्द्रको रूपमा काम गर्नेछ।
उद्घाटन समारोहपछि हुवावेके प्रमुख सामाजिक पहल ‘सीड्स फर द फ्युचर २०२४’ को समापन समारोह आयोजना गरिएको थियो, जसको उद्देश्य नेपालका युवाहरूलाई आईसीटी शिक्षा र नवप्रवर्तनमार्फत सशक्त बनाउनु हो । कार्यक्रमको उद्घाटन हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनको स्वागत मन्तव्यबाट सुरू भएको थियो। कार्यक्रममा अन्य सरकारी अधिकारीहरू, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरू र विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
नेपालको डिजिटल रूपान्तरणमा हुवावे नेपालको योगदानको २५ वर्ष पूरा भएको अवसरले पनि विशेष महत्त्व राखेको छ । बितेको २५ वर्षमा हुवावेले देशको प्राविधिक परिदृश्यलाई आकार दिन, दूरसञ्चार पूर्वाधारको उन्नतिदेखि आईसीटी समाधानहरूमा नवप्रवर्तन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ । प्रदर्शनी केन्द्रको उद्घाटन हुवावे नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक नेताहरूको नयाँ पुस्ताका लागि प्लाटफर्म उपलब्ध गराउने निरन्तर प्रतिबद्धताको प्रमाण हाे ।
यसका साथै हुवावेले यस वर्षको ‘सीड्स फर द फ्युचर’ कार्यक्रमको समापन घोषणा गरेको छ, जसमा ‘टेक फोर गूड २०२४’ प्रतियोगितामा सहभागी नेपाली विद्यार्थी टोलीले ‘पिपल्स च्वाइस अवार्ड’ जितेका थिए । यस परियोजनाले ग्रामीण नेपालका गर्भवती महिलाहरूको स्वास्थ्य अनुगमन गर्नका लागि पोर्टेबल अल्ट्रासाउण्ड मेसिनको स्थापना गर्ने प्रस्ताव गरेको हो। यस परियोजनाले आईसीटीमार्फत सामाजिक प्रभाव सिर्जना गर्नका लागि ती विद्यार्थिहरूलाई सम्मानित गरेको हो।
Copyright © 2025 Bikash Media Pvt. Ltd.