२०८१ पुष २ गते १९:०१ विकासन्युज
काठमाडौं । ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ ।
गत आर्थिक वर्ष संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा एनसेल सम्मानित भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मानपत्र प्रदान गरेका थिए ।
सबैभन्दा बढी कर तिरी ललितपुर महानगरपालिकाको विकास र समृद्धिमा योगदान पुर्याएकोले उच्च कदर गर्दै एनसेललाई यो सम्मानपत्र प्रदान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
विगत लामो समयदेखि एनसेल सबैभन्दा बढी कर तिर्ने एक कम्पनीको रूपमा स्थापित रहँदै आएको छ ।
यसअघि पनि एनसेलले विभिन्न समयमा सरकारबाट सर्वोत्कृष्ट करदाता, सर्वोत्कृष्ट आयकरदाता लगायतको विभिन्न सम्मान पाइसकेको छ ।
एनसेलले स्थापनाकालदेखि गत आव २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकहरूमा ३०० अर्ब रुपैयाँभन्दा बढी तिरिरहेको छ । गत आवमा मात्रै कम्पनीले २०.३० अर्ब रुपैयाँ कर तथा शुल्कहरू सरकारलाई दाखिला गरेको छ ।
यसैगरी, कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत २ अर्ब रुपैयाँभन्दा बढीको योगदान गरी सातै प्रदेशका समुदायस्तरसम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा लाभ प्रदान गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.