घरजग्गालाई उद्योगको मान्यता दिन माग, विदेशीले अपार्टमेन्ट किन्न पाउने व्यवस्था गर्न जोड

  २०८१ मंसिर २८ गते १७:५३     विकासन्युज

काठमाडौं । घरजग्गा व्यवसायलाई उद्योगसरह मान्यता दिन सरकार तयार रहेको छ । शुक्रबार नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभा बोल्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले घरजग्गा क्षेत्रले भोगिरहेका समस्याहरू सरकारले समाधान गर्ने उल्लेख गरे ।

घरजग्गा तथा आवास क्षेत्रलाई हामीले कुन मान्यताका साथ अगाडि बढाउने र कसरी यसलाई चलायमान बनाउने भन्ने नीति सरकारसँग हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जग्गालाई वर्गीकरण गरी कृषि उत्पादन, आवास, उद्योग, प्रशासनिक संरचना लगातयका अन्य काम लागि कुन-कुन जग्गा कहाँ-कहाँ उपयुक्त छ, त्यो पत्ता लगाई सम्बन्धित जग्गा सोही प्रयोजनका लागि प्रयोग गरिनुपर्छ। यदि हामीले यो प्रणाली अपनाएनौं भने देशलााई माथि उठाउन सकिँदैन ।’

अर्थमन्त्री पौडेलले घरजग्गा व्यवसायीहरूलाई नाफाका लागि मात्रै अग्रसर नभई देश निर्माणका लागि अघि बढ्न आग्रह गरे । यस्तै, घरजग्गा आवास क्षेत्र उद्योगसरह नै भएको र यसलाई सरकारले साथ दिने उनको प्रतिबद्धता छ ।

यस्तै, उनले अब जग्गा हदबन्दीसम्बन्धी व्यवस्था हेरफेर हुनुपर्ने यसमा सरकारको साथ सहयोग रहने बताए । योजनाबद्ध र व्यवस्थित जग्गाको विकास गरी यसलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले घरजग्गा तथा आवास विकास क्षेत्र देशविकासको महाअभियानको महत्त्वपूर्ण कडी भएको दाबी गरे । घरजग्गा तथा आवास विकास महासंघले देशनिर्माणमा ठूलो योगदान गरिरहेको उनको भनाइ छ ।

उद्योगसरह मान्यता दिन सरकार तयार रहेको र घरजग्गासम्बन्धि समस्यालगायत अन्य प्रस्तावहरू ल्याएर मन्त्रालयमै आउन समेत उनले आग्रह गरे ।

अनुमतिप्राप्त संस्थाबाट घरजग्गा कारोबार गर्न आवश्यक नीति निर्माणमा सरकार लागिरहेको जानकारी दिए ।

यस व्यवसायलाई व्यवस्थित बनाउन र जनताको विकाससँग जोडिएका विषयमा कानुनी एवं आवश्यक सुधारका लागि सरकारले पहल गर्ने विश्वास दिलाए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घरजग्गा तथा आवास क्षेत्रसम्बन्धि कानुन सरकारले छिटो बनाइदिनुपर्ने उल्लेख गरे ।

उनले भने,  ‘हामी नाफाका लागि मात्रै काम गरिरहेका छैनौं । देशको निर्माण गर्ने उद्देश्य लिएर जिम्मेवारीका साथ आएका हौं । हामी त्यस्तो सोच्दैनौं । घरजग्गा तथा आवास विकास क्षेत्रसम्बन्धी सरकारले छिटो कानुन बनाइदिनुपर्‍यो ।

महासंघका अध्यक्ष भेषराज लोहनीले विदेशीलाई नेपालमा अपार्टमेन्ट बिक्री गर्न मिल्ने कानूनी व्यवस्था गर्न, उद्योगको मान्यता दिन र जग्गा हदबन्दीको व्यवस्था हटाउन माग गरेका थिए ।

विदेशीले नेपालमा अपार्टमेन्ट किन्न पाउने नियम बनाउनुपर्ने उनको भनाइ थियो ।

नेपालको पर्यटन क्षेत्र तथा रियलस्टेट व्यवसाय फस्टाउनुका साथै व्यवसायलाई उद्योगको मान्यता दिन अर्थमन्त्रीसँग उनको माग थियो।

ढुंगागिट्टी, सिमेन्ट, स्टिल, फलाम, रङलगायत सबै व्यवसायलाई चलायमान बनाउने तर घरजग्गा व्यवसायलाई भने उद्योगको मान्यता समेत नदिएको घरजग्गा व्यवसायीहरूको गुनासो थियो ।

यस्तै, उनीहरूले सेयर कारोबारका लागि स्टक मार्केटजस्तै घरजग्गा कारोबारको लागि ल्याण्ड मार्केटको अवधारणा र हाउजिङ ल्याण्डपुलिङ अवधारणाहरू ल्याउनुपर्ने विषयलाई समेत महासभामा  जोडेका थिए ।