२०८१ मंसिर २८ गते १०:५८ विकासन्युज
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिँदा अन्तर बैंक ब्याजदर पनि ह्वात्तै घटेको छ । अहिले बैंक तथा वित्तीय संस्थामा पौने ७ खर्ब लगानीयोग्य रकम हुँदा अन्तर बैंक कारोबार पनि घटेको छ भने ब्याजदर पनि न्यूनतम बिन्दुमा छ ।
बैंकहरूबाट कर्जा प्रवाहमा सुधार नआउँदा बैंकमा पैसा थुप्रिएको छ । अहिले बैंकहरू अधिक तरलताको अवस्थामा पनि छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.९१ प्रतिशत रहेको छ ।
२०८० कात्तिकमा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ४.३९ प्रतिशत रहेकोमा २०८१ कात्तिकमा २.७७ प्रतिशत रहेको छ । एक वर्षको अवधिमा अन्तर बैंक ब्याजदर करिब ३७ प्रतिशत घटेको छ ।
२०८१ कात्तिकमा वाणिज्य बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशत, विकास बैंकहरूको ८.९६ प्रतिशत र वित्त कम्पनीहरूको १०.०३ प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.७४ प्रतिशत, विकास बैंकहरूको १२.०० प्रतिशत र वित्त कम्पनीहरूको १३.३३ प्रतिशत रहेको थियो ।
२०८१ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ५.०१ प्रतिशत, विकास बैंकहरूको ५.८३ प्रतिशत र वित्त कम्पनीहरूट्कोठ ७.१८ प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.७६ प्रतिशत, विकास बैंकहरूको ९.११ प्रतिशत र वित्त कम्पनीहरूको १०.०२ प्रतिशत कायम भएको थियो ।
त्यसैगरी, २०८१ कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ९.०७ प्रतिशत, विकास बैंकहरूको १०.४३ प्रतिशत र वित्त कम्पनीहरूको ११.७० प्रतिशत रहेको छ । २०८० कात्तिकमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.९६ प्रतिशत, विकास बैंकहरूको १३.७० प्रतिशत र वित्त कम्पनीहरूको १४.४८ प्रतिशत रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.