सूर्य नेपाल काठमाडौं ओपन जारी : तेस्रो दिन निरज शीर्षस्थानमा, सदभाव एक स्ट्रोकले पछि

  २०८१ मंसिर २७ गते १८:०६     विकासन्युज

काठमाडौं । डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन् ।

५४ होलको खेल सकिँदा निरजले समग्रमा १०-अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।‌

एमेच्योर सदभाव पनि पनि ४-अन्डर ६४ स्कोर गर्दा समग्रमा ९-अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णुप्रसाद शर्माले १-ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६-अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे ।

समग्रमा ५-अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे । उनले आज १-अन्डर ६७ को स्कोर निकाले । एमेच्योर गल्फर राहुल विके समग्रमा २-अन्डर २०२ सहित पाँचौं स्थानमा रहे । उनले पनि आज १-अन्डर ६७ मा खेल सकाए ।

इभन-पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १-अन्डर २०३ सहित छैटौं स्थानमा छन् । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन-पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १-अन्डर ६७ मा सकाए । समग्रमा २-ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे । वसन्त र रामेले ३-अन्डर ६५ र प्रदीपले इभन-पार ६८ को स्कोर दर्ज गरे ।

रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरुवात राम्रो गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे । यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं‌ होलमा बोगी खेल्दै ब्याक नाइनमा १-अन्डर ३३ को स्कोर निकाले ।

सदभावले बोगीरहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १-अन्डर ३३ र ब्याक नाइन ३-अन्डर ३१ मा सकाए । उनले चौंथो, दशौं, तेर्हौं र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे ।

विष्णुले फ्रन्ट नाइन १-अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक-एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २-ओभर ३६ मा सकाए ।

कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश: ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन् । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।