४ महिनापछि कमलादीको कलभर्ट निर्माण पूरा, यातायात आवागमनमा सहज

  २०८१ मंसिर २७ गते १३:००     विकासन्युज

काठमाडौं । काठमाडौंको कमलादीस्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा बिहीबारबाट यातायात आवागमन सहज बनेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले उक्त कलभर्टको उद्घाटन गरे ।

११ मिटर लामो उक्त कलभर्ट भत्किँदा संघीय राजधानी काठमाडौंको व्यस्त सडक खण्ड मानिएको कमलादी क्षेत्रमा सवारी आवागमनमा समस्या भएको थियो ।

व्यस्त र जरुरी महत्त्वको स्थान भएकै कारण सडक विभागले तीव्रताका साथ सो स्थानमा काम गराएको विभागका महानिर्देशक रामहरी पोखरेलले जानकारी दिए ।

काठमाडौंको व्यस्त क्षेत्र कमलादीको उक्त कलभर्ट गत साउन २३ गते रातिको बाढीले क्षतिग्रस्त बनेको थियो । त्यस लगत्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्राविधिकहरू परिचालन गरी विस्तृत अध्ययन गराएको थियो ।

प्राविधिक तथा विज्ञहरूले क्षतिग्रस्त कलभर्ट रहेको खण्डमा यातायात सञ्चालनमा रोक लगाएका थिए ।

सडक डिभिजन कार्यालय काठमाडौंले गत असोज १८ गते ४९ लाख ६३ हजार रुपैयाँमा उक्त कलभर्ट निर्माणका लागि डिवी कन्ट्रक्सनलाई ठेक्का दिएको थियो । तर, ठेक्का लगत्तैको अविरल वर्षा र बाढीले पुनः काममा अवरोध गरेको थियो ।

सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीका अनुसार बाढीका कारण काम हुन नसके पछि मंसिर १७ गते सम्पन्न गर्ने गरि कातिक ३ गतेबाट काम सुरु भएको थियो ।

राणाकालमा निर्मित उक्त कलभर्ट पुरातात्विक महत्त्वको हुन सक्ने भन्दै पुरातत्व विभागले समेत चासो देखाएको थियो । कातिक १ गते पुरातत्व विभागले समेत कलभर्ट निर्माणमा सहमति दिए पछि निर्माणले गति लिएको थियो ।

बेमौसमी बाढी, दसैं, पुरातत्व विभागसँग सहमति लिनु पर्ने प्रकृया लगायतका चुनौती बीच पनि निर्धारित समयभन्दा अघिनै काम पूरा भएको डिभिजन प्रमुख भण्डारीले जनाएका छन् ।