२०८१ मंसिर २७ गते ११:२९ विकासन्युज
काठमाडौं । अर्बपति एलन मस्क र बिल गेट्सबीच फेरि विवाद उत्पन्न भएको छ । टेस्लाको सेयरले गर्दा दुईबीच विवाद उत्पन्न भएको हो ।
मस्कले यदि टेस्ला संसारको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्स ऋणमा डुब्न सक्ने बताएका छन् । गेट्सले टेस्लाको सेयरमा ‘सर्ट पोजिसन’ लिएका थिए । यसको मतलब यो हो कि उनले टेस्लाको सेयर घट्ने अनुमान गरेका थिए ।
मस्कका अनुसार यसबाट गेट्सलाई १.५ बिलियन डलर नोक्सान भएको छ । हाल टेस्लाको मार्केट क्याप १.२५ ट्रिलियन डलर छ भने एप्पलको ३.७२ ट्रिलियन । टेस्ला शीर्ष स्थानमा पुग्न लगभग २०० प्रतिशत ग्रोथ हुनुपर्छ ।
मस्कले सोशल मिडिया प्लेटफर्म एक्स (पुरानो ट्वीटर) मा लेखेका छन्, ‘यदि टेस्ला विश्वको सबैभन्दा ठूलो कम्पनी बन्यो भने गेट्सको ‘सर्ट पोजिसन’ ले उनलाई ब्याङ्करप्ट (ऋणमा डुब्नु) बनाउनेछ ।’
दुई अर्बपतिबीच लामो समयदेखि चलिरहेको विवादको यो नयाँ अध्याय हो । यस विवादको जराे टेस्ला स्टकमा लिइएको गेट्सको ‘सर्ट पोजिसन’ हो । वाल्टर आइज्याक्सनको जीवनी मस्क (२०२३) अनुसार गेट्सले यो ‘सर्ट पोजिसन’ मा १.५ बिलियन डलर गुमाए ।
सर्ट पोजिसन भनेको के हो ?
‘सर्ट पोजिसन’ एक सेयर बजार रणनीति हो । यसमा लगानीकर्ताले आफूसँग नभएको सेयर उधारो लिएर बिक्री गर्छ । सेयरको मूल्य घट्ने उसको अपेक्षा हुन्छ । त्यसपछि कम मूल्यमा सेयर किनेर नाफा कमाउँछ । गेट्सले सन् २०२१ मा सीएनबीसीसँगको अन्तर्वार्तामा आफ्नो पोजिसनबारे बोल्न अस्वीकार गरेका थिए । यद्यपि उनले टेस्लाको उपलब्धिको प्रशंसा गरे । उनले भनेका थिए, ‘एलनले टेस्लासँग जे गरे त्यो शानदार छ ।’
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार मस्क र गेट्सबीचको विवाद टेस्ला स्टकको विरुद्ध गेट्सको ‘सर्ट पोजिसन’बाट सुरु भएको थियो । २०२२ मा गेट्सले टेस्लाविरुद्ध शर्त लगाएको बताएका थिए । वाल्टर आइज्याक्सनको जीवनी मस्क (२०२३) अनुसार गेट्सले यस शर्तबाट १.५ बिलियन डलर गुमाए ।
भर्खरै एक पूर्व प्रयोगकर्ता टेस्लाकोनोमिक्सले मस्कको पुरानो ट्वीट पोस्ट गरेको थियो । यसमा मस्कले भनेका थिए, ‘यदि टेस्ला विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल हुन्छ भने त्यो सर्ट पोजिसनले बिल गेट्सलाई समेत ब्याङ्करप्ट बनाउन सक्छ ।’
गेट्सले टेस्लाविरुद्ध ठूलो बाजी लगाउँदा टेस्ला केही वर्ष पहिले सबैभन्दा कमजोर थियो ।
टेस्लाको सेयर ५६.९१ प्रतिशतले वृद्धि
टेस्लाको सेयर यस वर्ष ५६.९१ प्रतिशतले बढेको छ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित हासिल गरेसँगै मस्क मालामाल भएका हुन् । मस्कको ट्रम्पसँग गहिरो सम्बन्ध छ ।
गत महिना टेस्ला र स्पेसएक्सका सीईओसमेत रहेका मस्कले सम्पत्तिमा नयाँ कोसेढुंगा हासिल गरे । उनी अहिलेसम्मकै धनी व्यक्ति बनेका हुन् ।
फोर्ब्सका अनुसार आफ्नो कम्पनीको सेयर मूल्यमा भएको वृद्धि र उनको उद्यमको बढ्दो मूल्याङ्कनका कारण मस्कको कुल सम्पत्ति ३३४.३ बिलियन डलरको सर्वकालीन उच्च बिन्दुमा पुगेको छ ।
मस्क र गेट्सबीचको यो विवादले दुई दिग्गजबीचको प्रतिस्पर्धा झल्काउँछ । एकातिर प्रविधिको क्षेत्रमा नयाँ प्रयोगका लागि परिचित मस्क छन् । अर्कोतर्फ परोपकारी कार्यमा सक्रिय गेट्स छन् । यी दुईबीचको विवाद अझै जारी रहन सक्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.