२०८१ मंसिर २७ गते १०:४२ विकासन्युज
काठमाडौं । एनसेल फाउन्डेसनले बुधबारसम्म खेलिएका सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा हानिएका कुल ३७५ चौकावापत १ हजार ५०० वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने भएको छ ।
यी सामग्रीहरू दुर्गम र ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने छ । गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौकावापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो ।
बुधबारसम्म खेलिएका १९ वटा खेलमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन् । लुम्बिनी लायन्सका क्याप्टेन रोहितकुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन् ।
जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन् ।
यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखिएको छ ।
विद्यार्थीहरूले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन् । यी सामग्रीले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने विश्वास लिइएको छ ।
एनसेल फाउन्डेसनले एनपीएलका खेलहरू सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.