२०८१ मंसिर २७ गते ७:४२ विकासन्युज
काठमाडौं । बलेफी हाइड्रोपावरले आज मंसिर २७ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो ।
कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पूँजी ३ अर्ब ६५ करोड ५९ लाख ४० हजार रुपैयाँ पुग्नेछ ।
हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले कात्तिक २१ गते बुकक्लोज गरेको थियो । त्यसैले कात्तिक २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंकको जलविरे र जुगल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हकप्रद सेयरबाट संकलन भएको रकमले आयोजना निर्माण गर्दा बैंकबाट लिएको १ अर्ब ४० करोड रुपैयाँ कर्जा आंशिक भुक्तानी गर्ने, प्रवर्द्धकबाट लिएको ऋण ३० करोड ६४ लाख ४६ हजार रुपैयाँ पूर्ण भुक्तानी गर्ने, ठेकेदार तथा बिक्रेताहरुको १२ करोड १५ लाख २३ हजार रुपैयाँ भुक्तानी गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.