प्रभु हाइड्रो इन्भेष्टमेन्टले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

  २०८१ मंसिर २६ गते १८:२६     विकासन्युज

काठमाडाैं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।

आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत (सीईण) दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरे ।

प्रभु हाइड्रो इन्भेष्टमेन्टले ९८ करोड रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरको १ करोड ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएको हो ।

यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ ।

कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दै आइरहेको छ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो ।

प्रभु हाइड्रो इन्भेष्टमेन्टमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।

यस कम्पनीले हाइड्रो पावरको विभिन्न संरचनामा चाहिने मेसिनहरू आयात गरी भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ मा यसै आर्थिक वर्षमा तीन विगाह जमिनसमेत खरिद गरेको छ ।

यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडास्थित सञ्चालनमा आइसकेको गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ ।

यस कम्पनीले आईपीओ निष्काशनपछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ ।यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, इच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ ।