२०८१ मंसिर २६ गते १८:४० बबिता तामाङ
काठमाडौं । देशभर रहेका ६ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यअनुसारको बजेट खर्च गर्न सकेको छैनन् ।
पहिलो चौमासिक अर्थात् कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब ८ करोड ८४ लाख बजेट खर्च गरेको छ । जुन महानगरपालिकाले विनियोजन गरेको कुल बजेटको १२.४ प्रतिशतमात्रै प्रगति हो ।
चालु आवको लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख बजेट विनियोजन गरेको थियो ।
महानगरले सोही अवधिमा एक अर्ब २८ करोड २९ लाख पुँजीगत बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फ १५ अर्ब २ करोड २८ लाख बजेट छुट्याएकोमा सो रकम बराबरमात्रै खर्च भएको हो ।
तथ्यांकअनुुसार महानगरले पहिलो चौमासिकमा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ९ अर्ब ७५ करोड ४९ लाख बजेट विनियोजन गरेको थियो ।
कुन महानगरको कति बजेट खर्च ?
ललितपुर महानगरपालिका
ललितपुर महानगरपालिकाले चालु आवको चार महिनामा ३३ करोड २९ लाख पुँजीगत खर्च गरेको छ, जुन विनियोजित कुल पुँजीगत खर्चको ७.११ प्रतिशत हो । महानगरले चालु आवको लागि ४ अर्ब ६७ करोड ९४ पुँजीगततर्फ बजेट छुट्याएको थियो ।
त्यस्तै, चालुतर्फ कुल २ अर्ब ७८ करोड ८९ लाख बजेट विनियोजन गरेकोमा महानगरले पहिलो चौमासिकमा ५३ करोड ३६ लाख मात्रै चालु बजेट खर्च गरेको छ । यो विनियोजित कुल बजेटको २६.०४ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले चालु आवको लागि ७ अर्ब ४६ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो ।
भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकाले चालु आव २०८१/८२ को लागि कुल ६ अर्ब ५६ करोड १ लाख बजेट विनियोजन गरेको थियो । महानगरले कुल विनियोजित बजेटमध्ये पहिलो चौमासिकसम्ममा ७३ करोड ३५ लाख खर्च गरेको छ जुन कुल बजेटको ११.१८ प्रतिशत प्रगति हो ।
कार्तिक मसान्तसम्ममा महानगरले २२ करोड ७७ लाख पुँजीगत बजेट खर्च गरेको महानगरपालिको सूचना अधिकारी मेनुका पण्डितले बताइन् । जुन विनियोजित बजेटको ५.९६ प्रतिशत हो ।
सूचना अधिकारी पण्डितका अनुसार चालु आवको लागि महानगरले पुँजीगततर्फ ३ अर्ब ८२ करोड ४८ लाख बजेट छुट्याएको थियो । त्यस्तै भरतपुर महानगरले चालुतर्फ २ अर्ब ७३ करोड ५२ लाख बजेट विनियोजन गरेकोमा चार महिनामा ५० करोड ५७ लाख खर्च भएको छ । जुन समग्र बजेटको १८.४८ प्रतिशत प्रगति हो ।
पोखरा महानगरपालिका
पोखरा महानगरपालिकाले चालु आवको पहिलो चौमाासिकमा कुल विनियोजित बजेको १५ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ७ अर्ब ५१ करोड ३२ लाख बजेट छुट्याएकोमा एक अर्ब १२ करोड ७४ लाख बजेट खर्च गरेको हो । महानगरले सोही अवधिसम्म पुँजीगततर्फ ४६ करोड तीन लाख बजेट खर्च गरेको छ ।
चालु आवको लागि महानगरले पुँजीगततर्फको लागि भने कुल ४ अर्ब २९ करोड ७ लाख बजेट विनियोजन गरेकाो थियो । त्यसैगरी, महानगरले चालुतर्फ ६६ करोड ७१ लाख ८ लाख बजेट खर्च गरेको छ । कुल ३ अर्ब २२ करोड २५ लाख चालुतर्फ बजेट छुट्याएकोमा चार महिनामा सो रकम बराबरको मात्रै बजेट खर्च भएको महानगरले जनाएको छ ।
विराटनगर महानगरपालिका
विराटनगर महानगरपालिकाले चालु आवको लागि कुल ३ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये पहिलो चौमासिकमा लक्ष्यको १३.६५ प्रतिशत अर्थात ४७ करोड ७७ लाख बजेट खर्च भएको महानगरको तथ्यांक छ ।
महानगरका अनुसार पुँजीगततर्फ बजेट विनियोजन एक अर्ब ६६ करोड ७९ लाख विनियोजन गरेकोमा जसमध्ये चार महिनामा १० करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन लक्ष्यको ६.३३ प्रतिशत हो ।
त्यस्तै, महानगरले चालुतर्फ एक अर्ब ७८ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । पहिलो चौमासिकमा महानगरले छुट्याएको बजेटको ३०.८९ अर्थात ३७ करोड २२ लाख रुपैयाँ चालुतर्फ बजेट खर्च गरेको छ ।
वीरगञ्ज महानगरको बारेमा विकासन्यूजबाट बुझ्न खोज्दा सम्पर्क भए पनि सम्बन्धित व्यक्तिले जानकारी दिन मानेनन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.