राष्ट्रिय जीवन बीमाको सीईओमा बैंकरदेखि पूर्वउपसचिवसम्मले दिए आवेदन, ८ मध्ये कसले मार्ला बाजी ?

  २०८१ मंसिर २६ गते १७:३३     लक्ष्मण लम्साल

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बीमा, बैंकिङ, सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक र पूर्व उपसचिवबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

आवेदन दिने अन्तिम मिति आज (बुधबार) साँझ ४ बजेसम्म बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारी, बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत र पूर्व कर्मचारी, पूर्व उपसचिव, सामाजिक सुरक्षा कोषको उच्च व्यवस्थापन पदमा रहेका कर्मचारी लगायत ८ जनाले आवेदन दिएका छन् ।

आवेदन दिनेहरूमा सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् ।

जसमध्ये सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । यसैगरी, काठमाडौंका प्रकाशमान मानन्धर प्राइम कमर्सियल बैंकका उच्च व्यवस्थापन पदमा कार्यरत थिए । स्थायी ठेगाना गुल्मी रहेका रामकृष्ण पन्थी पूर्वउपसचिव हुन । उनी महालेखा नियन्त्रक कार्यालयको उपसचिवबाट रिटायर भएका हुन् ।

रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् ।

विराटनगर घर भएका रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक पदमा कार्यरत छन् । उनी कोषको उपनिर्देशक हुन् । धनुषा घर भएका रामदेव यादव विभिन्न विकास बैंकको उच्च व्यवस्थापन पदमा काम गरिसकेका व्यक्ति हुन् । उनको स्थायी ठेगाना धनुषा हो ।

राजनाथ खनाल नेपाल बैंकको उच्च व्यवस्थापन पदबाट रिटायर कर्मचारी हुन् । उनी साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए ।

स्याङ्जा घर भएका लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत छन् । उनले सो कम्पनीमा मार्केटिङ डिपार्ट सम्हालिरहेका छन् ।

राष्ट्रिय जीवन बीमा कम्पनीले मसिंर ६ गते दोस्रो पटक सीईओको आवेदन खुलाएको थियो । जहाँ आवेदन दिने अन्तिम दिन आज साँझसम्म थियो ।

यसअघि कम्पनीले पहिलोपटक असोज १६ गते आवेदन माग गरेको थियो । त्यसबखत ४ जनाको आवेदन परेको थियो । जसमध्ये ४ जना नै फेल भएका थिए ।

दरखास्त दिने उम्मेदवारहरूले पेश गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेकोमा कुनै पनि उम्मेदवारले कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसकेपछि पदपूर्ति समितिले सबैलाई फेल गराएको सूचना सार्वजनिक गराएको थियो ।

त्यसबखत आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका थिए, जसमध्ये यादव र रिमालले फेरि पनि आवेदन दिएका छन् ।