२०८१ मंसिर २६ गते १६:५१ विकासन्युज
काठमाडौं । सन् २०२४ को ११ महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्ममा १० लाख ५५ हजार ५५३ जना पर्यटक नेपाल भ्रमण गर्न आइपुगेका हुन् ।
नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिएको यो चौंथो पटक हो ।
तथ्यांकअनुसार अघिल्लो वर्ष अर्थात सन् २०२३ मा पनि नेपालमा १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटक भित्रिएका थिए । त्यस्तै, सन् २०१९ मा नेपालमा विदेशी पर्यटक भित्रिने संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो ।
सन् २०२४ को नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका छन् । गत वर्षको नोभेम्बरमा एक लाख ८ हजार ६३० पर्यटक नेपाल भित्रिएको थियो । तथ्यांकअनुसार गत वर्षको डिसेम्बरको तुलनामा यस वर्ष सबै मुलुकबाट भित्रिने पर्यटकको संख्यामा वृद्धि देखिएको छ ।
पर्यटन बोर्डका अनुसार नोभेम्बरमा सार्क मुलुकबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । सार्क मुलुकबाट ३१ हजार १६१ पर्यटक भित्रिएको छ । दोस्रोमा एसियाबाट २४ हजार ८९७ पर्यटक भित्रिएका छन् । गत वर्षको सोही अवधिमा एसियाबाट २२ हजार ४३८ पर्यटक भित्रिएका थिए ।
गत वर्षको नोभेम्बरको तुलनामा यस वर्ष नोभेम्बरमा युरोप मुलुकबाट भित्रिने पर्यटको संख्यामा पनि वृद्धि छ । गत वर्ष २२ हजार ६९३ पर्यटक भित्रिएकोमा यो वर्ष २६ हजार १५५ पर्यटक भित्रिएका छन् ।
समीक्षा महिनामा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ पर्यटक नेपाल भ्रमणका लागि भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले कमी हो । गत वर्षको सोही महिनामा २४ हजार ४४३ पर्यटक भित्रिएका थिए । भारतपछि सबैभन्दा बढी पर्यटक अमेरिकाबाट १० हजार ९८१ पर्यटक भित्रिएका छन् । जुन गत वर्षको भन्दा ७.७ प्रतिशतले बढी पर्यटक भित्रिएको छ । गत वर्षको सोही अवधिमा ६ हजार १३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।
त्यस्तै, नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने तेस्रो मुलुकमा चीन रहेको छ । नोभेम्बरमा चीनबाट ६ हजार ६११ पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ । यो संख्या पनि गत वर्षको तुलनामा २४.४ प्रतिशतले बढी हो । चीनपछि बेलायतबाट धेरै पर्यटक भित्रिएका छन् । बेलायतबाट नोभेम्बरसम्ममा ६ हजार ६११ पर्यटक भित्रिएका छन् । जुन गत वर्षको भन्दा ७.७ प्रतिशतले बढी हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.