निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति

  २०८१ मंसिर २६ गते १५:५६     विकासन्युज

काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

छलफलपछि सञ्चारकर्मीहरूसँग अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउन सिमेन्ट व्यवसायीहरूले प्रतिवद्धता गरेको जानकारी दिए । सिंहका अनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध हुनेछ ।

आफूहरूले सिमेन्ट उद्योगहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ ।

‘हामीले उहाँहरूलाई सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँहरुले अहिले फ्याक्ट्रीमा सात सय रुपैयाँ पुर्‍याउनु भएको छ,’ सिंहले भने,  ‘आफ्ना आफ्ना समस्याहरू राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरूले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ।’

सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।