एनपीएलमा खाजा व्यापार, साना व्यवसायीलाई बहार

  २०८१ मंसिर २६ गते १२:२२     विकासन्युज

काठमाडौं । काठमाडौंका सानुराजा मर्हजनको दैनिकी सधै एकनासले बित्दैन । कहिले पठाओ चलाउने, कहिले आफ्नो घरकै काम गने त कहिल्यै ज्याला मजदुरी । यसैगरी बित्छ उनको दैनिकी । १० दिन भयो, आजभोलि उनको दैनिकी एकैनासले बितिरहेको छ । अहिले उनी बिहानै उठेर कीर्तिपुरको क्रिकेट मैदान पुग्छन् । जहाँ अहिले नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ ।

उनी बिहानदेखि साँझसम्म विभिन्न थरिका खानेकुरा पकाएर बेच्ने गर्छन् । जसबाट उनी धेरथोर आम्दानी पनि गरिरहेका छन् । पैसा कमाउन जे भेटियो त्यो काम गर्न तयार उनले एक समय होटलमा पनि काम गरेका थिए । उनलाई चाउमिन मःम मिठो पकाउन आउँछ । अहिले त्यही सीप उनी प्रयोग गरिरहेका छन् ।

यही सीपले उनी अहिले दिनमै ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । यो काममा उनी एक्ला भने हैनन् । उनीसँग अन्य तीनजना साथी पनि छन् । चार जना मिलेरै मम पकाएर बिक्री गरिरहेका छन् । मंगलबार टियू क्रिकेट मैदान पुगेका विकासन्युज प्रतिनिधिसँग कुरा गर्दै उनले भने,‘ साथीहरू मिलेर खानेकुरा बनाइ बेचिरहेका छौँ, सोचे भन्दा राम्रो कमाइ भइरहेको छ ।’ सानुराजाका अन्य साथीहरू पनि उनी जस्तै पठाओ चलाउने काम गर्छन् ।

काठमाडौंमा नेपाल प्रिमियर लिग हुने थाहा पाएपछि उनले साथीहरूसँग केही व्यवसाय गर्नुपर्छ भन्ने सल्लाह गरेका थिए । साथीहरू पनि उनको सल्लाहमा सहमत भए । उनीहरू अहिले बिहानको लागि चिया, चना अण्डा, चप पकाउँछन् भने दिउँसोको लागि मःम पकाएर बेच्ने गर्छन् । आफ्नो योजना र साथीहरूको सहयोगले सोचेभन्दा राम्रो कमाइरहेका उनी दैनिक डेढ देखि २ सय प्लेट मम, दुईदेखि तीन केजी चना, पाँच केजी चप, दुई क्रेट अण्डा कम्तिमा बिक्री भइरहेको बताउँछन् ।

‘बिहान ५ बजेदेखि फ्रेस बनाएर बेचिरहेका छौँ, खटाइ पनि राम्रै छ कमाइ पनि राम्रै भइरहेको छ,’ उनी भन्छन्, मैदान बाहिर खानेकुरा बेच्नेहरूको लागि व्यवस्थित तरिकाले राखिदिएको भए यो भन्दा पनि राम्रो हुने थियो ।’

बाहिर पसल राखेको ठाउँमा पुरै धुलैधुलो छ । धेरै मान्छे हिँड्ने बित्तिकै धुलो उड्छ । क्यानले हाम्रा लागि भएपनि केही व्यवस्था गरेको भए राम्रो हुने थियो, हामीले यो कुरा राखेपनि उनीहरूले सुनेनन् ।’

उनीहरूले मेला भनेर चर्को मूल्य पनि तोकेका छैनन् । ‘सामान्य बाहिर जतिमा खानेकुरा पाइन्छ, त्यहाँ पनि त्यही मुल्यमा बेचेका छौँ, त्यही भएर पनि होला धेरैजना आउनुहुन्छ खानुहुन्छ । पाइन्थ्यो त्यही मुल्यमा बेचिरहेका छन् । पहिलो दिन आएका ग्राहक अहिलेसम्म आइरहनुभएको छ,’ उनी भन्छन्, ‘सस्तो र मिठो भएरै होला, हामी कहाँ मम खानेहरुको भिड लाग्छ ।’

यो मेलामा भएको व्यपारबाट हौसिएका सानुराजा र उनका साथीहरू अब पनि यस्ता मेला पर्वमा व्यापार गर्ने सोच बनाएको बताउँछन् ।

काभ्रेका प्रविन जोशी अहिले स्टिकर बेचेरै दैनिक १ हजारदेखि १५ सय कमाइरहेका छन् । हरेक दिन जुन टोलीको प्रतिस्पर्धा हुन्छ तिनै टोलीको स्टिकर छापेर ल्याउने र बेच्ने गर्दा खर्च कटाएर दिनमा १५ सयदेखि २ हजार रुपैयाँ कमाइ हुने गरेको उनी बताउँछन् ।

चावहिलमा स्टिकर बनाएन लगाएर खेलमैदानमा आएर बेच्ने गरेको बताउँदै उनले स्टिकर बेचरै राम्रो कमाइरहेको बताए । मंगलबार कर्णालीको र पोखराको स्टिकर बढी बिक्री भएको उनले बताए ।

‘समर्थकहरू आउँछन्, आफ्नो मन परेको टोलीको स्टिकर किन्छन् कोही निधार गाला जता सहज लाग्यो उतै छाप्छन्,’ उनी भन्छन्, ‘५० रुपैयाँ तीनवटा स्टिकरका दरले बेच्दा पनि राम्रो कमाइ हुँदो रहेछ ।’

बैतडीका हरिस सिंह महराले क्रिकेट मैदान बाहिर खुद्रा पसल राखेका छन् । सँगै उनले बैतडीबाट ल्याएको ओखर, बदाम सुन्तला पनि राखेका छन् । काठमाडौंमा कोरियन भाषाको तयारी गरिरहेका उनले केही समयको लागि खर्च जुटाउन पसल राखेको बताए । किक्रेट सुरु हुन लागेको थाहा पाएपछि खाली समय त्यत्तिकै बस्नुभन्दा अलिकति भएपनि कोठाभाडा आउला भन्ने आशामा सामान बेच्न सुरु गरेको उनको भनाइ छ ।

अहिले उनी बिहान १ घण्टा भाषा सिक्ने र बाँकी समय सामान ल्याएर क्रकेट मैदानमा पुग्छन् । खुद्रा सामान, सुन्तला बदाम बेचेर अहिले उनी दैनिक २ हजारदेखि तीन हजार रुपैयाँसम्म कमाइ रहेका छन् । उनी शनिबार राम्रो कमाइ हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘यहाँ खेल हेर्न आउने भनेको धेरै जसो विद्यार्थी हुन्, अन्य दिनमा उनीहरूको बिदा हुँदैन शनिबार राम्रो कमाइ हुन्छ, दिनमा ६ हजारसम्म पनि कमाइ गरेँ ।’ हरिष यसअघि शसस्त्र प्रहरीमा आवद्ध थिए ।

उनी केही वर्ष मलेसिया र दुवईमा काम गरेर पनि फर्किए । ‘नेपालमा पनि राम्रो रोजगारी छैन, खाडीमा पनि राम्रो कमाइ हुँदैन,’ उनी भन्छन्, अब अलि कमाइ हुने देशतिर जाऔं कि भनेर कोरियान भाषा सिकिरहेको छुँ ।’

त्रिवि किक्रेट मैदान बाहिरको दृश्य आजभोलि हेर्न लायक छ । कोही खेल खेलिरहेका, कोही हेरिरहेका, कोही हुटिङ गरिरहेका सबै आ–आफ्नै तालमा देखिन्छन् । अझ बढी हेर्न लयाक त बाहिर व्यापार गरिरहेकाहरूको दृश्य छ ।

हिँडिरहेकाहरूलाई बोलाउँदै सामान बेच्नेहरू उत्तिकै कराइरहेको पाइन्छ । कोही पानी बेच्दै, कोही बदाम बेच्दै, कोही पानीपुरी चटपटे त कोही मःम, चाउमिन बेच्नेहरूको भीड पनि उत्तिकै छ । क्रिकेट सुरु भएदेखि अन्य समयमा दिनभर ५ सयको व्यापार गर्नेहरू अहिले २ हजार रुपैयाँदेखि तीन हजारसम्मको सामान बेच्छन् । अझ धेरैजसोले त खेलको समयसम्मका लागि मात्र व्यापार राखेका छन् । अधिकांशले यो बेला व्यापार हुन सक्ने मौका छौप्दै व्यापार सुरु गरेको बताएका छन् ।

कञ्चनपुरका सूर्यबहादुर बुढाले यही मौका छोपेर स्टल राखेर व्यापार गरिरहेका छन् । उनी अहिले चिकेन रोल चिया बेचिरहेका छन् । उनले खर्च कटाएर दैनिक २ हजार रुपैयाँको चिया बिक्री गर्ने गरेका छन् । बच्चा बिरामी भएर उपचार गराउन काठमाडौँ आएका उनी १ वर्षदेखि कीर्तिपुर पाँगामा बस्दै आएका छन् ।

१० महिनाजति त्रिवि शिक्षण अस्पतालमा राखेर बच्चालाई उपचार गराएका उनीसँग आर्थिक समस्या सुरु भयो । उनी यहाँ बस्दा धेरै ठाउँमा काम खोजे तर भेटेनन् । परिवारसहित बस्नुपर्ने बाध्यता हुँदा उनलाई असहज हुन थाल्यो । उनले यही क्रममा विदेशको भिसा लगाएपनि थर लागेन । उनले त्रिवि क्रिकेट मैदानमा एनपीएल सुरु हुन लागेको थाहा पाए । त्यसपछि उनले निर्णय गरे अब यहाँ केही गर्नुपर्छ । सूर्यले केही समय भारतमा पनि रोल बनाउने काम गरेकाले यहाँ पनि यही बनाएर बेच्ने योजना बनाए ।

‘हातमा सिप पनि थियो आवश्यकता पनि प¥यो अहिले यही काम गरिरहेको छु’ विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘केही दिनको लागि पनि राम्रै भइरहेको छ, दैनिक दुई हजारको चिया बचे पनि खर्च टर्छ ।’

थर्मसमा बोकेको चियाबाटै कमाइ

उदयपुरका जोन मगर थर्मसमा चिया बोक्दै हिँडछन् । १ वर्षदेखि बिहान÷साँझ उनको दैनिकी यसै गरी चल्छ । परिवारसँगै बल्खुमा बस्दै आएका उनी बल्खुको तरकारी बजारमा चिया बोकेर घुम्छन् । केही दिनदेखि भने उनी बल्खु भन्दा कीर्तिपुरमा चिया बोकेर हिँड्न सुरु गरेका छन् । उनी अहिले दैनिक १ हजारभन्दा बढी पैसा चिया बिक्री गरेरै कमाउँछन् ।

‘दुःख पनि उति नै हुन्छ, मान्छेलाई चिया खानुहुन्छ भन्दै सोध्दै हिँड्नुपर्छ, कोही खानुहुन्छ, कोही खाँदैन भन्नुहुन्छ,’ उनी भन्छन्, ‘आफैं चिया पकाउँछु, थर्मसमा हाल्छु, यसरी नै डुल्छु, कहिले व्यापार हुन्छ, कहिले हुँदैन यस्तै त हो ।’

एउटा थर्मसमा १५ कप चिया जान्छ, उनी एकै पटक दुईवटा थर्मस बोकेर हिँड्छन् । जोनको दाई विदेश गएका छन् । ‘दाइ विदेश जाँदा लागेको ऋण छ । साहुहरू माग्न घरमै आउँछन्, धेरथोर भएपनि ऋण तिरेको छुँ,’ उनी भन्छन्, यही हो दुःख सुख गरिरहेको छु, अहिलेको जस्तै व्यापार दिनहुँ भइदिए सहजै हुन्थ्यो ।’