एनभीडीयाको सेयर घट्यो, चीनद्वारा एकाधिकारविरोधी कानुन उल्लङ्घनको अनुसन्धान सुरु

  २०८१ मंसिर २५ गते १६:३६     विकासन्युज

काठमाडौं । अमेरिकी मल्टीनेसलन टेक कम्पनी एनभीडीयाको सेयर घटेको छ ।

एनभीडीयाविरुद्ध एकाधिकारविरोधी कानुन उल्लङ्घनको आरोपमा चीनले अनुसन्धान सुरु गरेसँगै एनभिडियाको सेयरमा दबाब परेको हो । सेयर लगभग २.५५ प्रतिशत ले घटेको हो ।

राज्य बजार नियमन प्रशासन (एसएएमआर) ले एनभीडीयाको इजरायली प्राविधिक कम्पनी मेलानोक्सको अधिग्रहण र यसका सम्बन्धित सम्झौताहरूमा सम्भावित उल्लङ्घनको विषयमा अनुसन्धान थालेको हो ।

एनभीडीयाले सन् २०२० मा मेलानोक्सलाई अधिग्रहण गरेको थियो, जसले डाटा सेन्टर र सर्भरहरूको लागि नेटवर्क समाधान प्रदान गर्दछ।

एसएएमआरले भनेको छ, ‘हालैका दिनहरूमा एनभीडीयाले चीनको एकाधिकारविरोधी कानुन उल्लङ्घन भएको आशंकामा र मेलानोक्स सेयर अधिग्रहणसँग सम्बन्धित सर्तहरूलाई लिएर अनुसन्धान सुरु गरिएको हो ।’

यस समाचारले अमेरिका र चीनबीचको चिप निर्माणको प्रतिस्पर्धालाई थप तताएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले चिप बिक्रीमा कडा प्रतिबन्ध लगाउने प्रयास गरेको छ, जसले चीनको सैन्य क्षमतामा सुधार रोक्ने उद्देश्य राख्छ ।

एनभीडीयाले भनेको छ, ‘हामी नियामक निकायहरूबाट आएका सबै प्रश्नहरूको जवाफ दिन तयार छौं ।’

यो वर्ष कृत्रिम बाैद्धिकता (एआई) चिप्समा उच्च मागका कारण एनभीडीयाको सेयर १८० प्रतिशतले वृद्धि भएको थियो ।च्याटजीपीटीको लोकप्रियता र व्यापक प्रविधि क्षेत्रमा लगानीकर्ताहरूको रुचिले सेयर बजारमा सुधार ल्याएको छ ।