सूर्य नेपाल गल्फ टुरअन्तर्गत काठमाडौं ओपन भोलिदेखि सुरु, प्रथम पुरस्कार १ लाख २५ हजार

  २०८१ मंसिर २४ गते १४:१९     विकासन्युज

काठमाडौं । सूर्य नेपाल काठमाडौं ओपन मंगलबारदेखि सुरु हुँदैछ । सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगिताको रूपमा ‘सूर्य नेपाल काठमाडौं ओपन’ हुन लागेको हो ।

प्रतियोगिता भाेलि बिहान साढे १० बजे रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ ।

७२ होलमा खेलिने प्रतियोगिता शुक्रबार समाप्त हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा ३२ जना पेशेवर र १२ जना अमेच्योर खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्, जहाँ ३६ होलपछि कट हुनेछ ।

शीर्ष २१ पेशेवर खेलाडीहरू (टाइ हुनेहरू समेत) र पेशेवर कट पार गर्ने अमेच्योर खेलाडीहरूले अन्तिम ३६ होलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका लागि मैदानको अवस्था विशेष रूपमा सुधारिए आयोजकले जनाएको छ।

प्रतियोगितामा कुल पुरस्कार राशि ७ लाख ३५ हजार ५०० रुपैयाँ रहेको छ । विजेताले १ लाख २५ हजार प्राप्त गर्नेछन् भने द्वितीयले ८५ हजार र तृतीयले ६८ हजार रुपैयाँ जित्नेछन् ।

यसैगरी, चौथो र पाँचौं हुनेले क्रमशः ५५ हजार र ४८ हजार रुपैयाँ प्राप्त गर्नेछन् । बाँकी शीर्ष २१ खेलाडीहरूले पनि पुरस्कार राशि बाँड्नेछन् ।

डिफेन्डिङ च्याम्पियन्स निरज तामाङ, नेपालको नम्बर एक गल्फर भुवन नगरकोटी, अनुभवी पेशेवर खेलाडीहरू रवि खड्का र दिनेश प्रजापति प्रतियोगिताका प्रमुख दाबेदार हुन् ।

उनीहरूलाई अमेच्योर खेलाडीहरू जस्तै राहुल विश्वकर्मा र नेपालका नम्बर एक अमेच्योर सदभाव आचार्यले कडा चुनौती दिने अपेक्षा गरिएको छ ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यस प्रतियोगितामा धेरै खेलाडीहरूबाट उत्कृष्ट प्रदर्शन देख्ने आशा गरेको बताए ।

उनले प्रायोजक सूर्य नेपाललाई निरन्तर समर्थनका लागि धन्यवाद पनि दिएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गतको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि उदयीमान एमेच्योर गल्फर राहुल विश्वकर्माले जितेका थिए ।