दुई डाक्टर मिलेर बनेको अस्पतालको आम्दानी २ अर्ब, १२८ प्रतिशतको ग्रोथ

  २०८१ मंसिर २४ गते १२:५५     विकासन्युज

काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको बी एण्ड बी अस्पतालले राम्रो आम्दानी गरेको देखिएको छ । सन् १९९४ देखि सेवा सुरु गरेको यस अस्पतालले चालु आर्थिक वर्षको यो अवधिसम्म करिब २ अर्ब रुपैयाँको सञ्चालन आम्दानी गरेको हो ।

यस अस्पतालले २०२४ को हालसम्म १ अर्ब ९५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन हालसम्मकै उच्च हो । अस्पतालले २०२३ मा १ अर्ब ४२ करोड ६० लाख रुपैयाँ, २०२२ मा १ अर्ब ३२ करोड ७० लाख र २०२१ मा ९४ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको तथ्यांकबाट देखाउँछ ।

यस अस्पतालले २०२० मा ८५ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । पाँच वर्षको अवधिमा यस अस्पतालको आम्दानी निरन्तर वृद्धि हुँदै गएको देखिन्छ । २०२० को तुलनामा यस अस्पतालको सञ्चालन आम्दानी अहिले १२८ प्रतिशतले बढेको छ ।

४ दशकअघि देशको सेवा गर्न नेपाल फर्किएका डा. जगदिशलाल वैद्य र डा.अशोककुमार बास्कोटाले मिलेर खोलेको यस अस्पतालले सेवा सुविधा पनि बढाउँदै लगेको छ । बी एण्ड बी अस्पतालको नाम दुवैको थरबाट राखिएको थियो । बी अर्थात् बास्कोटा र वैद्य ।

डा. वैद्यले शल्य चिकित्सामा विशेषज्ञ हुन् भने डा.बास्कोटा बाल विशेषज्ञ हुन् । बास्कोटा अर्थोपेडिक सर्जन हुन् । बी एण्ड बी अस्पताल बहु-विशेषताले भरिएको अस्पतालसमेत बनेको छ । जहाँ विभिन्न प्रकारका उपचारहरू हुने गर्छन् ।

यस अस्पतालले १ अर्ब बढी ऋणका लागि रेटिङ पनि गराएको छ । अस्पतालले ए फोर प्लसको रेटिङ पाएको छ ।