जति व्यस्त भएपनि दिनमा ४० मिनेट स्वास्थ्यका लागि छुट्याऔं : स्पोर्ट्स इन्जुरी सर्जन मानन्धर

  २०८१ मंसिर २४ गते १०:४३     इन्द्रसरा खड्का

आजभोलि नेपालमा स्पोर्टस् इन्जुरीको समस्या लिएर अस्पताल पुग्नेहरूको संख्या बढ्दै जान थालेको छ । विभिन्न खेल खेल्दा , दौडिदा,  उफ्रिँदा वा कडा खालको शारीरिक व्यायाम गर्दा स्पोर्ट्स इन्जुरीको समस्या हुने गर्छ । शरीरका विभिन्न जोर्नी, टाउको, घाँटी छालामा इन्जुरी हुने गर्छ । नेपालमा यसको अवस्था, उपचार र यो विषयमा नागरिक कति सचेत छन् ? लगायतका विषयमा वरिष्ठ अर्थोपेडिक, आर्थोस्कोपीक तथा स्पोर्टस इन्जुरी सर्जन प्रा.डा. राजीव राज  मानन्धरसँग कुराकानी गरेका छौं। प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको  सम्पादित अंश:

स्पोर्टस् इन्जुरी भनेको के हो ?

स्पोर्टस् इन्जुरी भन्नेबित्तिकै धेरैलाई प्रोफेसनल कुनै पनि खेल खेल्दा लाग्ने चोट भन्ने बुझिन्छ । तर खेल खेल्दामात्र होइन,  हामीले दौडिँदा, उफ्रँदा, खेल्दा वा कुनै शारीरिक व्यायाम गर्दा पनि स्पोर्टस् इन्जुरी हुन्छ । विशेष गरी स्पोर्ट्स इन्जुरी कन्ट्याक स्पोर्ट्स र नन्कन्ट्याक स्पोर्ट्स भनेर छुट्याउन मिल्छ । स्पोर्टस् इन्जुरी कन्ट्याक स्पोर्ट्समा धेरै देखिन्छ । जस्तै फुटबल भयो । अर्को रेस्लिङ- यसमा  पनि इन्जुरी हुने सम्भावना बढी हुन्छ । अर्को नन्कन्ट्याक स्पोर्ट्स जस्तो क्रिकेट, टेनिस, टेबल टेनिस, ब्याडमिन्टन, गल्फ, पौडी,  जिम्न्यास्टिक, प्रिन्टिङ, दौड, ट्र्याक एण्ड फिल्ड, साइकल दौड, आर्चरी, फ्रिस्टाइलमा  इन्जुरी नहुने होइन, तर कम हुन्छ । 

भनेपछि खेलाडीलाई मात्र नभई सामान्य मानिसलाई शारीरिक व्यायाम गर्दा हुने इन्जुरी पनि स्पोर्ट्स इन्जुरी हो भन्न मिल्यो त ?

हो ।  सामान्यतया सर्वसाधारणलाई यो इन्जुरी हुँदैन । राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई मात्र इन्जुरी हुन्छ भन्ने बुझाइ गलत हो । अझ यसको जोखिममा खेलाडीभन्दा ननखेलाडीहरू धेरै पर्ने गरेका छन् । 

नेपालमा यसको अवस्था कस्तो छ ?

म यो क्षेत्रमा काम गर्न थालेको १८ वर्ष भयो । यो अवधिलाई हेर्ने हो भने आजभोलि स्पोर्ट्स इन्जुरीका बिरामीको सङ्ख्या बढेको छ । यसको पछाडिको कारण भनेको साधारण मान्छे पनि अहिले फिटनेसमा लागेको पाइन्छ । बिहान बाहिर निस्कने हो भने मर्निङ वाक गर्नेहरूको भीड देख्न सकिन्छ । जिम जानेहरूको सङ्ख्या पनि उत्तिकै बढेको छ भने मान्छेले घरमै पनि मेसिनहरू ल्याएर व्यायाम गर्न सुरु गरेका छन् । यसमा सर्वसाधारणको रुचि बढेसँगै इन्जुरीका बिरामीको संख्या पनि बढेको छ । अहिले दैनिक ओपीडीमा आउने ३० देखि ४० प्रतिशत  यो समस्या लिएर पुग्नुहुन्छ । 

खेलाडी अथवा सर्वसाधारण यो समस्या लिएर अस्पताल बढी को आउनुहुन्छ ?

खेलाडीमा पनि यो समस्या धेरै हुन्छ । तर कुरा के छ भने उनीहरूलाई यो विषयमा प्रशिक्षित गराइएको हुन्छ । कसैले कुनै खेल खेल्दा यो विषयमा पढ्नुभएको छ, कसैले तालिम लिएर खेल्नुभएको छ भने उहाँहरू सुरक्षित हुनुहुन्छ । तर, साधारण व्यक्ति कसैले हप्ताभर मेचमा बसेर काम गरेको छ, यताउति हिँड्न पाएको हुँदैन । उसले एक दिन बिदाको समयमा हप्तैभरि बसेको निकाल्नु पर्‍यो भनेर बिहानै घरबाट निस्कनुहुन्छ । यस्तो व्यक्तिमा कडा  इन्जुरी हुने सम्भावना अझ बढी हुन्छ । कुनै ज्ञान, कुनै सुरक्षाको सावधानी नअपनाएर फुटबल, ब्याडमिन्टन, बास्केटबल लगायत खेल खेल्नुहुन्छ वा रनिङमा जानुहुन्छ भने त्यस्तोमा इन्जुरीको समस्या बढी देखिन्छ ।

६ दिन बसेको एक दिनमै निकाल्न खोज्दा के फिटनेस रहन्छ त ?  

आजभोलि व्यस्त दैनिकी प्राय: सबैको छ । नाम कमाउन, दाम कमाउन सबै व्यस्त हुन्छन् तर  हाम्रो जीवन नै स्वस्थ भएन भने त्यो नाम र पैसाको काम हुँदैन । म एउटा चिकित्सक भएको नाताले पनि भन्छु- हप्ताभर बसेर एकदिनभरि उफ्रेर राम्रो हुँदैन । बरु एक दिनमा कम्तीमा ३० मिनेट आफ्नो लागि छुट्याउनुपर्छ । म पनि उमेर ढल्कन लाग्यो, अहिले आएर बुझिँदैछ स्वास्थ्य नै धन हो भनेर ।  

२४ घण्टामा १ घण्टा वा आधा घण्टा आफ्नो लागि छुट्याउनुपर्छ भन्ने थाहा छ तर, थाहा पाएर पनि हामीले ध्यान दिँदैनौं, बेवास्ता गर्दा कस्तो समस्या उत्पन्न हुन्छ ?

पहिलेभन्दा आजभोलि मान्छे धेरै सचेत भइसकेका छन् । धेरैजसाेले फिट्नेस मेन्टेन गर्न खोज्नुहुन्छ तर केही व्यक्ति हुनुहुन्छ, जसलाई मेरो फुर्सद नै छैन भन्ने । तर उहाँलाई एक दिन शरीरले नै बुझाउँछ कि अलिकति व्यायाम चाहियो भनेर । जसले नियमित व्यायाम गर्नुहुन्छ, डाइटिङ गर्नुहुन्छ, आफ्नो जीवनशैली व्यवस्थापन गर्नुहुन्छ, उहाँहरूको उमेर बढी भएपनि जवान नै देखिनुहुन्छ । मेरो भनाइ के हो भने बाँचेर मात्रै बँच्ने होइन । रोग लागेर चोट लागेर औषधी खाएर बाँच्नु त के बाँच्नु ? क्वालिटी अफ लाइफ महत्त्वपूर्ण हुन्छ । यो मेन्टन गर्न आफ्नो दैनिक जीवनमा समय छुट्याउनुपर्छ । जति व्यस्त रहे पनि एक दिनमा ३०-४० मिनेट आफ्नो लागि छुट्याउन सजिलै सकिन्छ । 

यस्ता इन्जुरीबाट कसरी बच्ने ?

कुनै पनि काम गर्दा हामीले त्यो विषयमा जानकारी लिएर गर्छौं । तपाईंलाई लाग्छ- अब म हरेक दिन व्यायाम गर्छु, तपाईंलाई कुनै खेलमा रुचि भयो, अब खेल्छुभन्दा सबैभन्दा पहिलो त्यो विषयमा रिसर्च गर्नुपर्‍यो । व्यायाम गर्दा कस्तो खालको गर्ने, त्यो आफ्नो शरीरलाई फिट छ कि छैन भनेर ध्यान दिनुपर्‍यो । मानौं तपाई कहिल्यै व्यायाम गर्नुभएको छैन, एकैदिन कडा खालका व्यायाम गर्नुभयो भने त्यसले इन्जुरी गराउँछ । यसका लागि विस्तारै योजना बनाउनुपर्छ, अर्को कुनै खेल खेल्दा त्यो कसरी खेल्ने तरिका र सुरक्षित कसरी रहने के कस्ता सामग्री प्रयोग गर्ने भन्ने कुरा खोज्नुपर्‍यो । मानौं तपाईंलाई फुटबल खेल्न मन पर्‍यो,  यसका लागि ‘नी क्याप्स, सुज लगाउनुपर्छ । यस्ता सामग्रीले शरीरमा चोट लाग्न दिँदैन ।

अर्को वार्मअप एकदम आवश्यक छ । कुनै पनि खेल खेल्दा मैदानमा गएर एकैचोटि खेल्ने होइन । शरीरलाई वार्मअप हुन समय लाग्छ । उफ्रने, जगिङ गर्ने गरिसकेपछि मात्र खेल खेल्न जानुपर्छ । यसो गर्दा मुटुको धड्कन मिल्छ, यो कुरामा विशेष ध्यान दिनुपर्छ । उदाहरणका लागि एउटा बास्केटबल खेल्दाको कुरा गरौं । प्रोफेसनल खेलाडीलाई बल लिएर बास्केटमा सुट गर्दा जुन जम्प गरेको हुन्छ, यसलाई ल्याण्डिङ कसरी गर्ने भन्नेबारे सिकाइएको हुन्छ । उफ्रेर गोडा जब भुँइ ल्याण्ड गर्छ, कुन सेफमा ल्याण्ड गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ । यो मिलेन भने गोडाको लिगामेन्टहरू च्यातिने सम्भवना हुन्छ । हरेक खेलको यस्तो टेक्निकहरू हुन्छन् । 

यो विषयमा धेरैलाई जानकारी छैन, सचेतना कतिको आवश्यक ठान्नुहुन्छ ?

धेरै आवश्यक छ । तर आजभोलि यस्ता विषयमा ज्ञान लिन हामीसँग धेरै पहुँच छ । सबैको हातमा मोबाइल र इन्टरनेट छ । हामीलाई चाहेको कुरा युट्युबमा खोज्न सक्छौं, धेरै चिकित्सकहरूले यसमा आफ्नो धारणा राखेका हुन्छन्, विभिन्न मिडियामा यस्ता आर्टिकल, समाचारहरू आएका हुन्छन्, यसका लागि हामीले खोजी गर्न सक्नुपर्‍यो । 

तपाईंले अहिलेसम्म कस्ता-कस्ता खेलाडीको उपचार गर्नुभयो ?

कहिलेकाहीं तयारी अपनाउँदा पनि खेलाडीहरूलाई विभिन्न इन्जुरी भइरहेको हुन्छ । उहाँहरू अस्पताल आउनुहुन्छ । मैले अहिलेसम्म धेरै खेलाडीहरूको उपचार गरेको छु । १८ वर्षको अवधिमा मैले कम्तीमा ६ हजार बढीको उपचार गरेको छु । यसमा खेलाडी र सर्वसाधारण दुवै उत्तिकै पाएको छु । खेलाडीहरूलाई यो विषयमा जानकारी पनि गराइएको हुन्छ भने फिजियो थेरापीदेखि चिकित्सकको पनि सुविधा उहाँहरूलाई हुन्छ । उहाँहरूमा पनि यस्तो समस्या हुन्छ भने अझ बढी सर्वसाधारणलाई यस्तो समस्या भएको मैले पाएको/भेटाएको छु ।

खेलाडीहरू मात्र नभई अन्यलाई पनि हुन्छ यो समस्या ?

यो इन्जुरी खेलाडीहरूलाई मात्र होइन । अन्य काम गर्ने व्यक्तिहरूलाई पनि हुन्छ । जस्तै- फ्याक्ट्रीमा काम गर्ने, घरमा पेन्टिङ गर्ने । कुइनोको छेउमा औंला सिधा गर्ने, नारी उठाउने हाम्रा टेन्डनहरू जुन हड्डीबाट उठेर आएको हुन्छन् । मानौं- एउटै फ्याक्ट्रीमा लामो समयदेखि काम गर्दै आउनुभएको छ, उहाँहरूमा टेन्डन सुनिने गर्छ । अर्को पेन्टरहरूलाई पनि यस्तो समस्या हुन्छ । पेन्ट गर्दा सोल्डरहरू चलाइराख्नुपर्छ । यसो हुँदा सोल्डरको कप टेन्डन जसलाई रोटेटर अफ टेन्डन भनिन्छ, त्यसमा इन्जुरी हुन सक्छ । इन्जुरी विभिन्न किसिमका हुन सक्छन् । 

स्पोर्ट्स इन्जुरी कत्तिको गम्भीर हुन्छ ?

यस्ता समस्यालाई वेवास्ता गरिरह्यो भने गम्भीर पनि हुनसक्छ । पहिलो चरणमा टेन्डन सुन्निन्छ । हामीले यही चरणमै उपचार गर्न सक्यौं भने निको हुन्छ । र पछि फेरि त्यही काम गर्न पनि सकिन्छ । तर, बेवास्ता गरियो भने समस्या हुन सक्छ । विशेषगरी सोल्डरमा आएको यस्तो समस्यालाई वेवास्ता गरियो भने गम्भीर रूप लिन सक्छ । पहिले सुनिएको भागमा विस्तारै दुखाइ पनि बढ्दै जान्छ , दुखाइ व्यायाम गरेर औषधी खाएर मात्र निको हुँदैन । यस्तो अवस्थामा अप्रेसन गरेर टाँका लगाउनुपर्छ ।  कहिलेकाहीं हाम्रो गोडामा चोट लागेर एक्सरे गराउँदा नर्मल देखिएपनि लिगामेन्ट इन्जुरी भएको हुनसक्छ । 

यस्ता समस्या लिएर अस्पतालमा पुग्ने बिरामीहरू कस्तो अवस्थामा पुग्छन् ?

सर्वसाधारणले त यो विषयमा खासै जानकारी पाएको देखिँदैन । अस्पताल पुगेका धेरैजसो हात-खुट्टा, जोर्नी सुनिएको भनेर आउनुहुन्छ । चिकित्सकले हेर्दै जाँदा स्पोर्ट्स इन्जुरी भएको हुन्छ । घुँडामा चोट लागेर आएकाहरूमा एक्सरे नर्मल छ तर बढी सुनिएको हुन्छ । लिगामेन्ट इन्जुरी, रोटेटर इन्जुरी, स्पाइनल इन्जुरी, एक्सरे गरेर सबै थाहा हुँदैन। एमआरआई गर्नुपर्ने हुन्छ । अर्को कुरा सबै इन्जुरीमा अप्रेसन नै गर्नुपर्छ भन्ने पनि हुँदैन । 

उपचार नेपालमै सम्भव छ ?

अहिले हरेक रोगको उपचार नेपालमै सम्भव छ । स्पोर्ट्स इन्जुरीको उपचार पनि नेपालमै हुन्छ । अहिले यो समस्या हुनेबित्तिकै यो विषयका विज्ञ चिकित्सकलाई पनि भेट्न सकिन्छ । त्यसपछि यसको उपचार के हुन्छ, कसरी गर्ने भन्नेबारे उनीहरूले  सल्लाह दिन्छन् । यो समस्या हुनेबित्तिकै अस्पतालमा पुग्नुपर्छ । कुनै पनि समस्या आयो भने घरमै बस्न हुँदैन । 

स्पोर्टस् इन्जुरीको अप्रेसन कुन माध्यमबाट गरिन्छ ?

आभोलि संसार नै मिनिलेबल सर्जरीतिर गइरहेको छ । कस्मेटिकल रूपमा पनि बेटर, हेर्दा घाउ ठूलो पनि नदेखिने, बिरामीलाई धेरै दुखाइ पनि नहुने र डाक्टरलाई पनि सहज हुने, ब्लिडिङ पनि धेरै नहुने आर्थोस्कोपबाट गरिन्छ । पहिले पहिले पेटबाट पित्तको थैली निकाल्दा पनि ठूलो चिरेर निकालिन्थ्यो । अहिले सानो प्वाल पारेर पाइप पठाइन्छ । त्यस्तै, गोडा, सोल्डरलगायत विभिन्न ठाउँमा स-सनो प्वाल बनाएर आर्थोस्कोपबाट अप्रेसन वा उपचार गरिन्छ । यसो गर्न दुई तीन ठाउँमा स-सानो प्वाल पारिन्छ, एउटाबाट क्यामरा पठाइन्छ, अर्कोबाट काम गर्ने सामग्री पठाएर यो माध्यमबाट लिगामेन्टको उपचार गरिन्छ । यसो गर्दा दुखाइ पनि कम हुने, चाँडै निको हुने गर्छ । 

एउटा व्यक्तिले आफ्नो स्वास्थ्यको कसरी ध्यान दिने ?

बेसिक कुराहरूमा ध्यान दिनुपर्छ- जस्तै डाइट । धेरैलाई थाहा छ, के खानुहुन्छ, के खानुहुँदैन भनेर । यसमा व्यक्ति स्वयंले पनि ध्यान दिनुपर्छ कि म के खाँदैछु भनेर । अर्को शारीरिक व्यायाम पनि आवश्यक हुन्छ । धेरै कडा खालको नभएपनि आफ्नो जीउलाई फिट हुने खालको व्यायाम हरेक दिन गर्नुपर्छ । अर्को कहिलेकाहीं समय मिलाएर हिँड्ने, कुनै खेल खेल्ने पनि गर्नुपर्छ । काम गर्नुपर्छ तर, दिनरात काम गर्दा पनि यसको नकारात्मक असर पर्छ । यो कुरामा ध्यान दिनु जरुरी हुन्छ ।