२०८१ मंसिर २३ गते ७:१७ विकासन्युज
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज), भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुले गुनासो गरिरहेका छन् ।
‘‘तपाइहरुको भुक्तानी बाँकी कुन कुन मन्त्रालय र निकायमा छ, आइतबार जानुस्, भुुक्तानी हुनेछ । आइतबार भएन भने सोमबार त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ,’ उनले भने, ‘त्यसरी पनि भुक्तानी पाउनु भएन भने म कहाँ आउनुस, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौं ।’
उनका अनुसार बक्यौता कति हो भन्नेमा अन्योल छ । बक्यौता रकमाको निर्क्यौल गरे भुक्तानीमा समस्या नहुने उनले बताए ।
निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने अर्थमन्त्री पौडेलले बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मंसिर मसान्तसम्म रहेको छ ।
सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बिषयमा पनि स्पष्ट हुनुपर्ने उनले बताए ।
‘हामीले एक अर्कालाई दोष दिएर समस्या समाधान हुदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौ । हामी एउटै ढुंगामा अघि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरु आफुलाई सरकार भनेर बझ्नुस । हामी आफुलाई व्यवसायी भनेर सम्झन्छौं । अनि समस्या समाधान हुन्छ ।’
Copyright © 2025 Bikash Media Pvt. Ltd.