२१ सय बिगाहा जग्गामा नेपाल-चीन औद्योगिक मित्र पार्क : ९० अर्ब लगानी, ४५ हजारलाई रोजगारी

  २०८१ मंसिर २३ गते १४:२८     नरेन्द्र विष्ट

काठमाडौं । २०७७ फागुन १६ गते बिना तयारी नेपाल-चीन औद्योगिक मित्र पार्कको शिलान्यास गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सो आयोजनालाई बीआरआई फ्रेमवर्कम समेटेका छन् । शिलान्यास भएको चार वर्षसम्म पनि निर्माण कार्य अगाडि बढ्न नसकेको सो परियोजना अब द्रूत गतिमा अगाडि बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा बीआरआई फ्रेमवर्कमा सो आयोजनालाई समेटेपछि अब यो परियोजनाको काम द्रूत गतिमा अगाडि बढ्ने अपेक्षा धेरैको छ । आफ्नै गृहजिल्ला र निर्वाचन क्षेत्रमा यति धेरै ठूलो परियोजनाको तयारी थालेका ओलीले यो परियोजनाबाट औद्योगिक क्रान्तिको सुरुवात हुने दाबीसमेत गरिरहेका छन् ।

झापाको दमक नगरपालिका १०, कमल गाउँपालिका ७ र गौरादह नगरपालिका-५ का केही भूभाग समेटेर रतुवा र मावा नदीको बीच भागमा बन्ने भनिएको यो औद्योगक पार्क निर्माणका लागि चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङ पिङ ज्वाइन्ट क्रिएसन कन्सट्रक्सन प्रोजेक्ट डेभलपमेन्ट कम्पनीले जिम्मा पाएका छन् । सरकारले लगानी गर्न पनि स्वीकृति दिइसकेको छ ।

परियोजना निर्माणका लागि दुवै देशबीच सम्झौता भइसकेको छ । यो पार्क चिनियाँले नै सञ्चालन गर्ने र त्यसपछि नेपाललाई हस्तान्तरण गर्ने बुझिएको छ । साढे ५ सय हेक्टरमा बन्ने सो औद्योगिक पार्कको निर्माण ६ चरणमा सम्पन्न हुने नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण समितिका अध्यक्ष गोविन्द थापाले बताए ।

अध्यक्ष थापाका अनसार निर्माणमा पहिलो चरणमा अधिकतम् ९० अर्ब रुपैयाँसम्म लगानी लाग्नेछ । पहिलो चरणमा बाटोको कार्य अगाडि बढाइनेछ । सो कार्य २ वर्षभित्र सम्पन्न गरिने बुझिएको छ । सरकारले यो परियोजनाका लागि सवा अर्ब लगानीमा जग्गा खरिद गरेको थियो । उक्त परियोजना २१ सय बिगाहा क्षेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जग्गा एकीकृत गरिसकिएको नेपाल-चीन औद्योगिक मित्र पार्क निर्माण समितिका अध्यक्ष थापाले जानकारी दिए ।

अध्यक्ष थापाका अनुसार हाल एकीकृत गरिएको जग्गाको भुक्तानी गर्ने काम भइरहेको छ । ‘जसको जग्गा हो, उनीहरूलाई पैसा भुक्तानी गर्ने काम गरिरहेका छौं । अब २१ करोड मात्रै बाँकी छ, १ अर्ब २९ करोड भुक्तानी गरिसकेका छौं,’ उनले भने ।
भुक्तानीको काम सकेर सरकारसँग सम्झौता गरेर काम अगाडि बढाउने तयारी भइरहेको उनको भनाइ छ । हाल उक्त स्थानमा घरबार तथा जग्गा अधिग्रहण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

सो औद्योगिक पार्क काम, आराम, मनोरञ्जन र संस्कृतिका दृष्टिले समेत दक्षिण एसियामै उत्कृष्ट हुने दाबी गरिएको छ । उक्त जग्गाको सन् २०१७ मा चिनियाँ टोली आएर अवलोकन गरेको थियो ।

पार्कमा दर्जनौं उद्योग

औद्योगिक पार्क निर्माणपछि दर्जनौं उद्योग बन्नेछन् । कृषिजन्य, विद्युतीय, सूचना प्रविधि, गार्मेन्टलगायतका उद्योग त्यहाँ सञ्चालन हुनेछन् ।

यस्तै, चीनमा स्थापित बहुराष्ट्रिय सवारीसाधन, मोबाइल फोन तथा अन्य उपकरणका उद्योगहरू त्यहाँबाट सञ्चालन हुनेछन् । पार्क निर्माण हुने भएपनि स्थानीय पनि खुसी भएको थापाले बताए ।

यो परियोजना देशभरिकै लगानी र आकारका हिसाबले ठूलो भएको उनको दाबी छ । उनले यो परियोजना सिङ्गो देशलाई नै फाइदा दिने खालको रहेको बताए ।

४५ हजारले रोजगारी पाउने

यो औद्योगिक पार्क निर्माणपछि ४५ हजाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । यस आयोजनामा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी कुल १ लाख ६० हजारले रोजगारी पाउने बताइएको छ ।

कमल गाउँपालिका ७ का स्थानीय पदम सेढाईले यो आयोजनाबाट आफूहरू खुसी भएको बताए । उनले रोजगारीको अवसर सिर्जना गर्ने थलो बन्ने आशा आफूहरूले राखेको धारणा राखे ।

‘औद्योगिक पार्क बन्ने खबरले हामी खुसी छौं । यो हाम्रा लागि गौरवको विषय हो । गाउँमै ठूल्ठूला उद्योग देख्न पाइने भयो, साढे ५ बिगाहा जग्गा खुसीकासाथ मैले सरकारलाई दिएको छु,’ उनले भने ।

दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईंले स्थानीयवासीको जीवनस्तर उठाउनका लागि यो औद्योगिक पार्कले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘यो एउटा अवसर हो । दमक त स्थान मात्र हो । अवसर सबैका लागि हुन्छ । रोजगारी नपाएकाहरूलाई राम्रो अवसर बन्नेछ । यहाँका उत्पादन विश्व बजारमा पुर्‍याउने हाम्रो प्रयत्न रहनेछ,’ उनले भनिन् ।