ठेट नेपाली स्वाद पस्कँदै ‘द गोल्डेन थाली’, खानामा १५ परिकार स्वाद

  २०८१ मंसिर २० गते ७:०६     विकासन्युज

काठमाडौं । पर्यटकलाई लक्षित गरेर पर्यटकीय क्षेत्र ठमेलमा विभिन्न भोजनालय विस्तारको काम तीब्र रूपमा भइरहेको छ । यहाँ पर्यटकलाई लक्षित गरी स्वादिष्ट भोजनका लागि विभिन्न ब्राण्डहरू खुलिरहेका छन् ।

यसैक्रममा पर्यटकीय क्षेत्र ठमेलस्थित ठमेल इको रिसोर्ट परिसरमा ‘द गोल्डेन थाली’ सुरू भएको छ । लामोसमय पर्यटन र सेवा उद्योगमा क्रियाशील ‘अर्थ बाउण्ड एक्सपेडिसन’ का राजन सिंखडा, मकालु एड्भेञ्चरका मोहन लम्सालको अग्रसरता र शेफ नेपाल टिमको परिकल्पनामा ठेट नेपाली स्वाद पस्कने उद्देश्यका साथ ‘द गोल्डेन थाली’ सुरु गरिएको हो ।

नेपालको मध्य पहाडी क्षेत्रको खानालाई प्रवर्द्धन तथा प्रचारप्रचार गर्ने र सम्पूर्ण नेपाललाई प्रतिनिधित्व गर्ने गरी थाली तयार गरिएको ठमेल इको रिसोर्टका सञ्चालकद्वय सिम्खडा तथा मोहन लम्सालले बताए । सिम्खडाले नेपाली खानाको परम्परागत शैलीलाई प्राथमिकता दिइएको बताए ।

‘नेपाली खानाको आधार नै अचार हो । सिलौटोमा पिनेको चट्नी, गालेको अचार, पकाएको ताजा अचारलगायत स्वाद गोल्डन थालीमा पाइने छन् । थालीका लागि आवश्यक मसला सिलौटोमै पिनेर ठेट नेपाली स्वाद दिने प्रयास गरिएको छ । हाम्रो यहाँ मासुसहित विभिन्न १५ परिकार समावेश छन्,’ उनले भने ।

गोल्डेन थालीमा विभिन्न परिकार विकल्पका रूपमा छन् । यहाँ मास, मुसुरो, बोडी, सिमी र मिक्स दाल रुचिअनुसार छनोट गरेर खान पाइन्छ । ढिँडोमा पनि मकै, गहुँ, कोदो र फापरको विकल्प छ । ग्राहकले भातमा मार्सी, ताइचिन, बासमती र जिरा मसिनोमध्ये रोज्न पाउने गरी मेनु तयार पारिएको सञ्चालक लम्सालले जानकारी दिए ।

यहाँ एकैपटक एक सयभन्दा बढीलाई सेवा दिन सक्ने क्षमता रहेको उनले बताए ।

‘हाल बिहान ११ बजेदेखि राति १० बजेसम्म सेवा दिइरहेका छौँ । हामीले शाकाहारी भोजनका लागि ५५० रुपैयाँ र मासुसहितको थालीका लागि अतिरिक्त शुल्क लिने गरेका छौँ,’ उनले भने ।

द गोल्डेन थालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनु ढकालले थरिथरीका नेपाली पाक-अनुभव बोटल्न सकिने स्थानका रूपमा विकास गर्दै जाने योजना रहेको बताइन् ।