२०८१ मंसिर १६ गते १८:२० विकासन्युज
काठमाडौं । सिमेन्टको मूल्य २० प्रतिशतले बढेको छ । सिमेन्ट उद्योगहरूले सरदर प्रतिबोरा एक सय रुपैयाँले बढाएका हुन् ।
चिनियाँ लगानीका सिमेन्ट उद्योगहरूसँगको बढ्दो प्रतिस्पर्धाका कारण मूल्य घटाएका उद्योगीहरूले निर्माण कार्यको सिजन सुरु भएसँगै मूल्य बढाएको जनाइएको छ ।
यसअघि प्रतिबोरा करिब ५ सय रुपैयाँमा बिक्री हुँदै आएको सिमेन्ट अब प्रतिबोरा ६ सयभन्दा बढी पुगेको छ । योसँगै यसअघिसम्म प्रतिबोरा ५ सय रुपैयाँ पर्ने सिमेन्टलाई अब भने ६ सय रुपैयाँ प्रतिबोरा पर्नेछ।
यता सिमेन्ट उद्योगीहरूले सिमेन्टको मूल्य बढाएकोमा निर्माण व्यवसायीले असन्तुष्टि जनाएका छन् । सरकारले निर्माण कार्यको भुक्तानी नदिएको बेला सिमेन्टको भाउ बढ्दा आफूहरू थप समस्यामा पर्ने एक निर्माण व्यवसायीले बताए।
मूल्य नबढाए सिमेन्ट उद्योगहरू धरासायी हुने निष्कर्ष निकाल्दै नेपाल सिमेन्ट उत्पादक संघले नै पहल गरेर मूल्य बढाएको हो । संघले यसअघि नै सिमेन्टको भाउ बढाउने प्रयास गरे पनि अनुकूल समयको पखाईमा बसेको थियो ।
चिनियाँ लगानीका उद्योगहरू होङ्सी र हुवासिन सिमेन्टले सस्तो मूल्यमा सिमेन्ट दिएपछि नेपाली लगानीका उद्योगहरुलाई पनि मूल्य घटाउनुपर्ने बाध्यता थियो । अहिले होङ्सी र हुवासिन पनि मूल्य बढाउन तयार भएपछि संघका सदस्यहरूले सहमति गरेर मूल्य बढाएका हुन् ।
नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले आफूहरू घाटमा रहेको भन्दै सिमेन्टको मूल्य बढाएको बताएका छन् ।
उनले भने, ‘हामीहरू घाटामा गयौं । हाल सिमेन्ट उद्योग ठूलो मारमा पर्यो । बैंकहरूको ब्याज थपिँदै गयो । त्यो तिर्न नसक्ने भयौं । त्यसैले केही राहत हुन्छ कि भनेर मूल्य बढाएका हौं ।’
नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले सिमेन्टको मूल्य बिना कारण बढाएको भन्दै गुनासो गरेका छन् ।
उनले भने, ‘जुन बेला कामको सिजन हुँदैन । त्यो बेला उद्योगीहरूले सिमेन्टको मूल्य घटाउनुको सट्टा बढाउँछन् । जुन बेला कामको सिजन हुन्छ, त्यो सिमेन्टको मूल्य बढाउँछन् । यो मार पर्ने भनेको हामी निर्माण व्यवसायीहरूलाई हो । सिमेन्टको मूल्य किन बढाएको रहेछ ? उद्योग कम्पनीलाई छिट्टै चिठ्ठी लेखेर पठाउँछौं ।’
मूल्य बढाएपछि संकटमा परेका नेपाली लगानीका सिमेन्ट उद्योगलाई राहत मिले पनि उपभोक्ता भने मर्कामा पर्ने भएका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.