२०८१ कार्तिक २६ गते १०:५४ विकासन्युज
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको उद्योगी व्यवसायीहरूले प्रतिक्रिया दिएका छन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द भएसँगै विमानस्थलको उडान कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरुले उडान सुरु गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा हुँदा पनि पूर्णरूपमा सञ्चालन हुन सकेको थिएन । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति गर्न लागेकाले उडान कटौती गरी विकल्पको रूपमा अन्तर्राष्ट्रिय विमान कम्पनीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेसँगै उद्योगी व्यवसायीहरू उत्साहित छन् । विमानस्थल बन्ने भएसँगै भैरहवामा निजी क्षेत्रले होटल लगायत पर्यटन पूर्वाधारमा ठूलो लगानी गरेका थिए ।
विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बौंको लगानी डुब्ने चिन्तामा रहेका उद्योगी व्यवसायीहरूलाई थोरै भएपनि राहत हुने देखिएको छ । उद्योगी व्यवसायीहरूले राज्यले नीतिगत रूपमा वैदेशिक रोजगारीमा जाने यात्रुहरूको लागि पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही उडान गर्ने व्यवस्था गरी पर्यटनको लागि प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।
उनीहरूले बहाना गर्ने नभइ अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सहुलियत र सेवा सुविधा दिएर दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । जजिरा, थाई र एयर एशियाले विमानस्थलबाट उडान नै सुरु गरेका छन् । विमानस्थल सञ्चालनसँगै आर्थिक क्षेत्रसँग जोड्न आवश्यक रहेको निजी क्षेत्रले बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको लागि १० घण्टा बन्द गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सुखद् भएको बताए । उनले निजी क्षेत्रले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न बारम्बार सरकारसँग माग गर्दै आएको बताउँदै काठमाडौंमाको विमानस्थल विस्तारको क्रममा उडान कटौती गरी भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको उल्लेख गरे ।
यस्तै, उनले पर्यटक आगमनको सिजनको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्नुपर्ने अवस्था भएकाले काठमाडौं आउने पर्यटकमा कमी देखिएको बताए । पर्यटन सिजनको समय भन्दा अन्य समयमा विमानस्थल विस्तार गर्न व्यवसायीहरुले माग गरेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान कटौती गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गर्दा नयाँ अवसरहरू सिर्जना हुने उनकाे भनाइ छ ।
उनले भैरहवा, बुटवल क्षेत्रका होेटलमा निजी क्षेत्रको ठूलो लगानी भएपनि विमानस्थल सञ्चालनमा आउन नसक्दा अर्बाैंको लगानी डुब्ने अवस्थामा रहेको बताए । भैरहवाबाट दीर्घकालीन अन्तर्राष्ट्रिय उडान गर्न आवश्यक रहेको बताए । भैरहवा अन्तर्राष्ट्रिय उडानले पर्यटनसँग सम्बन्धित पूर्वाधारहरुको सदुपयोग हुने जानकारी दिए ।
यस्तै, उनले बुटवल र पाल्पासम्म पर्यटक वृद्धि हुने अपेक्षा रहेको बताए । कृषि उत्पादन बिक्री लगायत धेरै क्षेत्रमा राम्रो हुने भन्दै निजी क्षेत्रको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्नुपर्ने माग पूरा भएको बताए ।
सरकारले सहुलियत, सुविधा र पूर्वाधारहरु तयार बनाउन सके गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले यस क्षेत्रको पर्यटन प्रवर्द्दनमा ठूलो योगदान गर्ने उनले उल्लेख गरे । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने माग उनले राखे ।
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतीको लागि १० घण्टा बन्दा गर्दा अन्तर्राष्ट्रिय उडानहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न थाई, एयर एशिया र जजिरा तीन वायुसेवा कम्पनीहरु उडान सुरु गरेका छन् ।
उद्योगी पवन गोल्यानले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुनु निजी क्षेत्रको लागि सकारात्मक भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको बहानामा भएपनि निजी क्षेत्रका लागि सुखद् र उत्साह बढाउने काम भएको उल्लेख गरे । थाई एयर एशियाले उडान सुरु गरेको भन्दै गौतमबुद्धको जन्मभूमिलाई सरकारले मार्केटिङ गर्न सक्नुपर्ने धारणा राखे ।
यस्तै, उनले थाइल्याण्डका ९९ प्रतिशत बुद्धर्धमालम्वीहरुलाई बुद्ध नेपालमा जन्मिएको भन्ने थाहा नभएको भन्दै नेपालले प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । वैदेशिक रोजगारीमा जाने उडानहरु पनि भैरहवाबाट सुरु गर्नुपर्नेमा जोड दिए ।
उनले अन्तर्राष्ट्रिय सबै उडान काठमाडौंबाट हुँदा ठूलो चाप परिरहेको भन्दै केही उडान पोखरा र भैरहवाबाट गर्नुपर्नेमा जोड दिए । बुद्धको जन्मभूमिको रुपमा सरकारले विश्वमा प्रचार गर्नसके गौतमबुद्ध विमानस्थल सञ्चालनसँगै लुम्बिनी पर्यटकको हब बन्नसक्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.