२०८१ भदौ २६ गते १५:५९ विकासन्युज
काठमाडौं । एमाले सांसद योगेशकुमार भट्टराईले गत भाद्र १२ गते प्रतिनिधिसभा बैठकमा बोलेको हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने भएको छ ।
बुधवारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद भट्टराईले भाद्र १२ गते बोलेको हिंसा भन्ने शब्द अंसदीय नभएको ठहर भएको बताएका हुन् ।
उनले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताए।
सभामुख घिमिरेले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने पनि बताए ।
उनले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दापनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङसमेत गरे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.