२०८१ भदौ २६ गते १४:४९ विकासन्युज
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कलाकार सुलेमान शंकर (ईकु)लाई प्रक्राउ गरेको छ । कलाकार भिषामा युरोप पठाउँछु भन्दै रकम असुली गरेको आरोपमा सुलेमान शंकरलाई पक्राउ गरेको सीआईबीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक हबिन्द्र बोगटीले जानकारी दिए ।
प्रवक्ता बोगटीका अनुसार कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनेर ईकुले रकम असुली गर्दै आएका थिए । उनले भौगोलिक रूपमा विकट क्षेत्रका मानिसलाई ठगी गर्ने गरेका थिए ।
‘विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी विशेषगरी भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानीसमेत सोहीअनुरूप आकर्षक हुने प्रलोभन देखाउँथे,’ उनले भने, ‘उनले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रालिको नाममा बैंक खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म रकम जम्मा गर्न लगाउँथे ।’
प्रहरीका अनुसार विदेश जान तयार मानिसहरूले खातामा रकम जम्मा पठाएपछि कलाकार भिषामा विदेशी मुलुकमा आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेका थिए । तर, रकम पठाएपछि उनी सम्पर्कविहीन हुने गरेका थिए ।
‘पीडितहरूले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ, तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई सम्पर्कविहीन रहेर ठगी गर्ने कार्य गर्दै आएका थिए,’ प्रवक्ता बोगटीले भने ।
साथै ठगिएका व्यक्तिलाई सीआईबीमा सम्पर्क गर्न आग्रह गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.