२०८१ भदौ २५ गते १७:०४ विकासन्युज
काठमाडौं । मधेश प्रदेश सरकारसँग जनकपुरधाममा बीमासम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बीमा प्राधिकरणको आयोजनामा मंगलबार छलफल एवम् अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले कृषि तथा पशुपन्छी बीमामा थप अनुदान दिन दुई करोड रुपैयाँ छुट्याएको जानकारी दिँदै अन्य प्रदेशमा सुरु गरिएको घर बीमा र दुर्घटना बीमाको प्रभावकारितालाई अध्ययन गरेर त्यसतर्फ अगाडि बढ्ने बताए ।
उनले बीमा गरेपछि बीमा कम्पनीहरू बीमितसँग सम्पर्कमा नरहने गरेको गुनासाहरू आउने गरेको उल्लेख गर्दै बीमा गराउँदा बीमाका शर्तहरूका बारेमा बीमितलाई राम्रोसँग बुझाउनुपर्ने र बीमा सर्भेयर तथा बीमा अभिकर्ताका कामलाई लिएर आउने गरेका गुनासाहरूलाई सम्बोधन गर्न प्राधिकरणले अनुगमनमा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा जटिल विषय नभएको उल्लेख गर्दै दैनिक दुई कप चिया घटाउने हो भने त्यसको पैसाले बीमा गर्न पुग्ने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणको काम, कर्तव्य र अधिकार, बीमा क्षेत्रको विद्यमान अवस्था, प्रदेश बीमा नीतिको आवश्यकता र बीमाको विकास एवम् बिस्तारमा प्रदेश सरकारको भूमिकासम्बन्धि प्रस्तुति गरेका थिए ।
कार्यक्रममा मधेश प्रदेशका मन्त्री, प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश मन्त्रालयका सचिव तथा सहसचिव, विभिन्न निकायका प्रतिनिधि र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूलगायतको सहभागिता रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.