मनकामना केबुलकारको डिजिटल स्तराेन्नति, असोज १ देखि पुनः सुचारु हुने

  २०८१ भदौ २५ गते १६:३९     विकासन्युज

मनकामना केबलकार चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन हुँदै आइरहेकाे छ । गत असार ३१ गतेदेखि सेवा राेकेर केबलकार अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति गरिएकाे छ । फाइल तस्बिर ।

काठमाडौं । देशकै पहिलो यात्रुवाहक केबुलकार सेवा अत्याधुनिक डिजिटल डी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ ।

अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।

प्रालिले दुई महिना लगाएर केबलकारको स्तरोन्नति गरेको हो ।

गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालिले जनाएको छ । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तनअनुरूप स्तरोन्नति गरेको हो ।

यो क्रम आगामी दिनमा पनि जारी राख्ने मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठ बताउँछन् ।

मनकामना दर्शन प्रालिले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन हुँदै आइरहेकाे छ ।

करिब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गतेदेखि पुनः सुचारु हुनेछ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।

मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् ।

मनकामना दर्शन प्रालि पर्यटन विधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रूपमा नेपाल सरकारबाट पटकपटक सम्मानित पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.