ईभीमय र पेट्रोलियम पदार्थ घटेका बेला निगमले भन्यो- १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिन्छ

  २०८१ भदौ २४ गते १०:५९     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोल मिश्रण गर्ने सम्बन्धमा बहस चलिरहेका बेला नेपाल आयल निगमले १० देखि १५ प्रतिशत मिश्रण गर्न सकिने बताएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको पेट्रोलियम पदार्थमा इथानोल मिश्रणसम्बन्धि कार्यक्रममा केन्द्रीय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले २०६० सालमा नै नेपालले आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको बताइन् ।

उक्त व्यवस्था बमोजिम पेट्रोलियम पदार्थमा इथानोल प्रयोग गर्न सम्भव रहेको उनको भनाइ छ ।

ʻ२०६० मंसिर २९ गतेको नेपाल राजपत्र खण्ड ५३ संख्या ३५ मा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रणसम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ । इथानोल बर्निङ पावरयुक्त तत्व हो । यसले पेट्रोलियम पदार्थको खपत कम गराउन सहयोग पुर्‍याउँछ भने देशबाट बाहिरिने विदेशी मुद्रालाई समेत बचत गराउँछ,ʼ प्रयाेगशाला प्रमुख  महर्जनले भनिन् ।

छिमेकी मुलुक भारत र चीनले समेत १५ देखि ३० प्रतिशतसम्म इथानोल प्रयोगलाई कार्यान्वयन गर्ने नीति बनाएकोमा नेपालले १० प्रतिशतलाई सहजै मिश्रण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार इथानोल मिश्रण अमेरिकामा १० प्रतिशत, ब्राजिलमा २७ प्रतिशत, भारतमा १५ प्रतिशत र चीनमा १० प्रतिशत कार्यान्वयनमा रहेको छ ।

भारतले सन् २०३० सम्ममा इथानोलको प्रयोग कम्तीमा ३० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । जसका लागि भारत सरकारले इथानोल उत्पादन र ढुवानीका लागि निःशुल्क व्यवस्था गरेको समेत प्रयाेगशाला प्रमुख महर्जनले  जानकारी दिइन् । नेपालले पनि वातावरणमैत्री इथानोल उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्याल बताउँछन् । २०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित रहेको उनको भनाइ छ ।

‘इथानोलको उत्पादन सम्भावना के हो ? नेपालमा यो उत्पादन गर्न सकिन्छ सकिँदै ? फेरि उत्पादन भएपनि बजारको माग धान्न सक्छ कि सक्दैन ?, ’ उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुने पौड्यालले बताए ।

आयाल निगमले पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिने बताएपछि पौड्यालले खण्डन गर्दै वृहत अध्ययन गरेर मात्र कार्यान्वयनमा ल्याउनुपर्नेमा जाेड दिए ।

पेट्रोलियम डिलर एशोशिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले पेट्रोलियम पदार्थमा इथानोलको मिश्रण बहसमाथि नै प्रश्न उठाए । ईभी (विद्युतीय गाडी) को प्रयोगसँगै दैनिक रूपमा पेट्रोलियम पदार्थको आयात घट्दो क्रममा रहेको बेला इथानोल मिश्रण किन र कति आवश्यक हो ? भन्ने उनकाे प्रश्न छ ।

‘केही समय अघिसम्म नेपालले ४ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयात गर्दै थियो । सो परिणाम अहिले घटेर २ हजार किलोलिटर हाराहारीमा झरिसकेको छ । यसरी आधा नै आयात घट्दैगर्दा थप पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको किन आवश्यक पर्‍याे ?, ’ उनले जिज्ञासा राखे ।

आफूहरू पेट्रोलियम पदार्थको ढुवानीकर्ता भएकाले सरकारले भनेको पेट्रोलियम पदार्थ बोक्ने (ढुवानी गर्ने) र ढुवानी भाडा बढाउनुपर्ने बताए । नेपालमा जुनकुनै नीति तथा योजना बन्ने तर लामो समयसम्म पनि कार्यान्वयन नहुने समस्या रहेको अध्यक्ष प्रधानले बताए ।

‘भारतदेखि नेपालसम्म पेट्रोलियम पदार्थ पाइपबाट ल्याउने योजना २०३९ सालमा नै बनेको थियो । यसको झण्डै ४० वर्षपछि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन ल्याउन सफल भयौं । अब इथानोल मिश्रणको योजना कहिले साकार हुने हो? ,’ उनले भने ।

यता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी पेट्रोलियम पदार्थमा इथानोल मिश्रको नीतिमा धेरै अघि बढिसकेको बताउँछन् । बहस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आफ्नो धारणा राख्दै मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पुरा गरिसकेको बताए ।

‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एक महिनाभित्र टुंग्याउछौं, ’ उनले भने ।

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत मन्त्री भण्डारीले बताए ।

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए ।

पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय निकै चर्चा चलेको छ । २०६० सालमा नै इथानोल उत्पादन र प्रयोगमा नीति बनेपनि हालसम्म कार्यान्वयनमा जान सकेको छैन । तर, नेपालमा इथानोल उत्पादन र मिश्रण सम्भव रहेको जनाउँदै आयल निगमले आवश्यक तयारीका साथ उत्पादनमा जाने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.