२०८१ साउन २५ गते १२:४० विकासन्युज
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ३८ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये नेपाल पुनर्बीमा कम्पनीले २० अर्ब ७८ करोड र हिमायन रिइन्स्योरेन्सले १७ अर्ब ७७ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेका हुन् ।
कम्पनीहरूले सबैभन्दा धेरै लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरेका छन् । यी दुई कम्पनीहरूले ८१.८२ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
कम्पनीहरूले ३१ अर्ब ३६ करोड रुपैयाँ वाणिज्य, विकास, फाइनान्स कम्पनी र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा लगानी गरेका हुन् ।
नेपाल पुनर्बीमाले आफ्नो कुल लगानीको ८५.६८ प्रतिशत अर्थात १७ अर्ब ८१ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेको हो । हिमालयन रिले आफ्नो कुल लगानीको ७७.३१ प्रतिशत अर्थात् १३ अर्ब ७४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ ।
कम्पनीहरूले बाँकी लगानी सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड डिबेन्चर र ऋणपत्रमा गरेका छन् ।
यसका साथै सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्र, नागरिक लागानी कोष र म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनीको सेयर, अन्य संस्थापक सेयर, सूचीकृत नभएका पब्लिक कम्पनीको सेयर लगायत क्षेत्रमा यी कम्पनीले लगानी गरेका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.