२०८१ साउन २४ गते १४:०८ विकासन्युज
काठमाडौं । प्रतिनिधिसभाको अर्थसमिति बैठकमा सेयर बजारबारे छलफल भएको छ । बिहीबार बसेको बैठकमा सांसदहरुले सेयर बजारको विषयमा आफ्नो धारणा राखेका छन् ।
पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले कम्पनीको वित्तीय स्थिति हेरेर लगानी गर्नु पर्ने बताए । ‘पुँजी बजारको सुधार, व्यवस्थापन र सन्तुलनका लागि नियामक धितोपत्र बोर्ड, नेप्सेले सूक्ष्म निगरानी राख्दै अनुगमन नियमन गर्नुपर्छ’ लगानीकर्ता फस्नु हुँदैन,’ उनले भने ।
यस्तै, पूर्वअर्थमन्त्री वर्षमान पुनले पछिल्लो समय राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले फरक व्यवहार देखाएको बताएका छन् । शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकारका पालामा कडा मौद्रिक नीति लिएको तर आफू निकट केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा निकै खुकुलो मौद्रिक नीति लिएको धारणा राखे ।
‘पछिल्लो समय गभर्नर साबको व्यवहार, कार्यशैली फेरिएकै हो । नेपाली कांग्रेसको पालामा र नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारका पालामा उहाँले कडा मौद्रिक नीति ल्याएरै कसेकै हो । तर, अहिले उहाँ आफू निकट सरकार छ, प्रधानमन्त्री र अर्थमन्त्रीलाई सहयोग गर्ने गरी खुकुलो मौद्रिक नीति लिनुभयो,’ उनले भने ।
उनले सेयर बजार बढ्नु राम्रो भएपनि पहिले नै सुधारका नीति लिनुपर्नेमा गभर्नरले रोक्ने काम गरेको उनले धारणा राखे । उनले सेयरकर्जाको सीमा पहिले नै हटाउनु पर्ने भएपनि अहिले हटाएर एमालेको सरकारलाई सहयोग गरेको बताए ।
यस्तै, बैठकमा सांसद सूर्यबहादुर थापाले पछिल्लो समय बजारमा देखिएको ठूलो आरोह अवरोहको विषयमा चर्चा गरे । उनले कसैको अभिव्यक्ति सेयर बजार घट्न र बढ्न नहुने धारणा पनि राखे । उनले पुँजी बजारको कमजोरी सुधार गर्दै अगाडि बढ्नु पर्ने धारणा राखे ।
यस्तै, बैठकमा एकीकृत समाजवादीका सांसद मेटमणी चौधरीले चन्द्रागिरि हिल्स कम्पनीको बुक भ्यालु कम भएको अवस्थामा पनि यसको शेयरमूल्य प्रतिकित्ता १ हजार २०० रुपैयाँसम्म कसरी पुग्यो भन्दै प्रश्न गरे । उनले कमजोर कम्पनीको मूल्य पनि कसरी आकासिन्छ भन्ने प्रश्न गरे ।
सांसद नारायणी शर्माले सेयर बजारमा लगानीकर्ताहरुलाई कसरी जोगाउने भन्ने विषयमा सरकार चिन्तित बन्नुपर्ने धारणा राखिन् । उनले कहिले सेयर अप्रतयातिस बढ्ने र कहिले अप्रत्यासित घट्नेभित्रको कारण पत्ता लगाउनु पर्ने बताइन् । उनले हालसम्म धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुन नसक्नु विडम्वना रहेको तर्क राखिन् ।
त्यस्तै सासंद छिरिङ लामाले पनि सेयर बजार एकाएक बढ्ने र एकाएक घट्ने कसरी हुन्छ भन्ने जिज्ञासा राखिन् ।
सांसदहरुले सेयर बजारमा देखिएका इन्साइडर ट्रेडिङदेखि अन्य समस्याहरु सुधार गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.