२०८१ साउन २४ गते १२:४६ विकासन्युज
काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाइलटको दोष रहेको चर्चा भएको छ । घटनाबारे छलफल गर्न बिहीबार बसेको संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले यस घटनामा पाइलटको दोष रहेको बताएका हुन् ।
सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको उनकाे दाबी छ । महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेस गरे ।
उनले भने, ‘टावरबाट सम्पर्क विच्छेद हुनेबित्तिकै हामीले प्रोसिड्युअरअनुसार नै खोजी गर्यौं, जबसम्म हामी क्रयास साइट आइडेन्टिफाई हुँदासम्म हिजोको मौसमको अवस्था पनि त्यस्तै थियो, तर हामीले त्यो शंकास्पद ठाउँ पत्ता लगाउना साथ खोजीका लागि हेलिकप्टर परिचालन गरेको अवस्था थियो ।’
उनले प्रारमम्भिक अनुसन्धानमा खराब मौसम हुँदाहुँदै हेलिकप्टर प्रवेश गरेको र खराब मौसम देखिएपछि काठमाडौं नै फर्कने बेला हेलिकप्टर दुर्घटनामा परेको देखिने बताए ।
उनले भने, ‘ब्याड वेदरमा यो प्रवेश गरेको कारण, बादल भित्र प्रवेश गरेको कारण र ऊ फर्कने क्रममा लेफ्ट टर्न गर्दाखेरी ठोक्किएको देखिन्छ, यो चाहीँ पाइलोटिङ कमाण्डले हाम्रो सिभिल एभिएसनको भिजुअल फ्लाइट रुट अनुसार नगएर यसरी बादल भित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो, यो कानुनले बर्जित गरेको विषय हो, यो रुटकज भनेको चाहिँ भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिन्छ हाम्रो अनुसन्धानमा, यसको डिटेल इन्भेष्टिगेसन सरकारले गठन गरेको आयोगले नै बताउला । ’
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री पाण्डेले मौसम खराबका कारण काठमाडौं फर्किन खोज्दा हेलिकप्टर बादलभित्र छिरेको र सोही बेला दुर्घटना भएको हुन सक्ने उनुमान बैठकमा प्रस्तुत गरेका छन् ।
उनले हेलिकप्टर देब्रेतर्फ मोडिन खोज्दा खसेको हुन सक्ने धारणा राखे । ‘मौसम अनुकुल भएन भनेर पाइलटले हेलिकप्टर फर्काउन खोजेको बेला दुर्घटना भएको जस्तो देखिन्छ,’ मन्त्री पाण्डेले समितिको बैठकमा भने ।
उनका अनुसार फर्किने बेला देब्रेतिर मोडिन खोज्दा बुट्यानहरु काटिएको देखिन्छ । त्यसपछि अलि पर दायाँतिरका बुट्यानहरु काटिएका छन् । त्यतातिर त्यतातिर झोलाहरु र जुत्ताहरु खसेको देखिन्छ । त्यसको करिब ५० मिटर पर पुगेपछि हेलिकप्टर भुइँमा जोतिएर जलेको देखिएको उनको भनाइ छ ।
बैठकमा मौसम खराब भएको समयमा उडान अनुमति किन दिइयो भन्ने प्रश्न उठेको छ । तर, महानिर्देशक अधिकारीले त्यतिबेला मौसम सफा रहेको प्रतिक्रिया दिएका छन् ।
सांसद प्रभु साहले नेपालको हवाई क्षेत्र सुरक्षित छैन भन्ने आशङ्का केही दिनयताका घटनाले पुष्टि गर्दै गएको बताउँदै यसलाई सुधार गर्नुपर्ने बताए ।
‘केही व्यक्तिहरू यसलाई ढाकछोप गर्नुपर्छ भन्नुहुन्छ । तर ढाकछोप होइन सुधार गर्नुपर्छ’, उनले भने,‘एक महिनामा यसरी दुर्घटना हुनु भनेको हाम्रो सरकारी निकाय साँच्चै घामड रहेछ भन्ने देखिन्छ, उनले प्रश्न गर्दै भने, ‘यो दुर्घटना हेलिकप्टर थोत्रो हो कि हाम्रो सिस्टम थोत्रो हो ।’
उनले आफै हेलिकोप्टर नउड्ने भन्दै नियमनकर्ताले जिम्मेवारी लिनुपर्ने बताए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.