२०८१ साउन २४ गते ११:३९ विकासन्युज
काठमाडौं । बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि मोहम्मद युनुस अन्तरिम सरकार प्रमुख बनेका छन् । उनले आज नै आज शपथ लिने कार्यक्रम छ । विद्यार्थीहरूको आन्दोलन सरकारको नियन्त्रणबाहिर पुगेपछि हसिनाले प्रधानमन्त्रीबाट राजीनामा गर्दै देश छाडेलगत्तै नोबल पुरस्कार विजेता युनुस मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त भएका थिए ।
उनी फ्रान्सको पेरिसबाट बंगलादेश आएर देशको प्रमुख बनेका हुन् । उनी पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको बंगलादेशी समाचार संस्थाहरूले उल्लेख गरेका छन् । उनले बैठकपछि बेलुका ८ बजे उनले शपथ लिने कार्यक्रम छ ।
को हुन् उनी ?
मोहम्मद युनुस नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री हुन् । ८४ वर्षका युनुसलाई अन्तरिम प्रधानमन्त्री बनाउन कैयौँ सातादेखि आन्दोलन गरिरहेका विद्यार्थी नेताहरूले समर्थन गरेका छन् ।
मोहम्मद युनुसले सन् १९७० को दशकमा लघुवित्तको थालनी गर्ने व्यक्तिको परिचय बनाएका छन् । उनले आरम्भ गरेको लघुवित्तको अवधारणाले देशका कतिपय मानिसहरूलाई गरिबीको चरम अवस्थाबाट माथि उठ्न सहयोग पुगेको छ ।
चटगाउँ विश्वविद्यालय नजिकैको गरिब गाउँमा घुम्न गएको समयमा उनी लघुवित्तको अवधारणाबाट प्रेरित भएका थिए । उनले केही दर्जन गाउँलेहरूलाई थोरैथोरै पैसा दिएर लघु व्यवसायको उद्यमी बन्न प्रस्ताव गरे । उनले एक पटकमा १०० डलरभन्दा कम मात्र पैसा दिए जुन परम्परागत बैंकहरूले दिने गरेका थिएनन् ।
उनको सहयोगमा सुरु गरिएका स्थानीय लघु उद्यमहरू निकै छिटो फस्टाए । सन् १९८०को दशकमा त्यसमा दशौँ हजार मानिसहरू सदस्य भए र त्यो ग्रामीण बैंक भयो ।
वित्तीय क्षेत्रमा गरेको योगदानको लागि सन् २००६ मा उनले नोबेल शान्ति पुरस्कार पनि पाए ।
राजनीतिमा प्रवेश
युनुसले नोबेल पुरस्कार पाएको महिनाबाटै आफ्नो राजनीतिक आवद्धता बढाएका हुन् ।
उनले सन् २००७ मा नागरिक शक्ति नाम दिइएको राजनीतिक अभियानमा काम गर्न सुरु गरे । उनले यही अभियानबाट बाङ्ग्लादेशमा तेस्रो राजनीतिक शक्ति स्थापना गर्ने प्रयास गरेका थिए । तर, यो अभियानलाई हसिना र उनकी प्रतिस्पर्धी बेगम खालेदा जियाले दशकौंसम्म माथि उठ्न नदिन प्रयास गरेका थिए ।
त्यसपछि उनी राजनीतिबाट पछि हटे । पछि आर्थिक अपचलन तथा कर छलि गरेको भन्दै शेख हसिनाले आरोप पनि लगाइन् । सन् २०१३ मा सरकारी अधिकारीहरूले प्राध्यापक युनुसमाथि विदेशी आयमा कर छली गरेको आरोप लगाएका थिए ।
उनी सोही कारण ६ महिना जेल पनि बस्नुपर्यो । पछि धरौटीमा छुटे । सन् २०११ मा बाङ्ग्लादेशको केन्द्रीय ब्याङ्कले ६० वर्षपछि अनिवार्य अवकाश लिनुपर्ने उमेर नाघेको आधारमा उनलाई ग्रामीण बैंकबाट पदमुक्त गरेको थियो । एजेन्सी
Copyright © 2024 Bikash Media Pvt. Ltd.