https://www.globalimebank.com/

पाँच कम्पनीमा सर्किट लागेको सेयर बजार ५ अंकले घट्यो, लाइफ इन्स्योरेन्समा झुमिए लगानीकर्ता

  २०८१ साउन १७ गते १५:२३     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार नेप्से परिसूचक ५.२४  अंकले घटेर २७५५.६२ को विन्दुमा कायम भएको छ ।

बुधबार कारोबार रकममा नयाँ रेकर्ड कायम भएको सेयर बजारमा बिहीबार पनि दिनभरि ३३२ कम्पनीको २१ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन रकम बुधबारको कारोबार रकमको हाराहारी हो ।

बुधबार दिनभरि ३३२ कम्पनीको २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा सेयर बजारमा नयाँ रेकर्ड कायम भएको थियो । यसअघि २०७८ सायन ३१ गते २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बिहीबार लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स समूहमा झुमिएका छन् । सो समूह ३.६९ प्रतिशतले बढेको छ । सूचीकृत १३ समूहमध्ये ६ समूहमा हरियाली छाउँदा बाँकी अन्य समूह राताम्मै भएका छन् । सबैभन्दा धेरै ट्रेडिङ समूह ३.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा यस दिन पनि सबैभन्दा धेरै हिमालयर रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । कम्पनीको ५९ करोड ७५ लाख रुपौयाँको सेयर कारोबार भएको छ ।

बिहीबार ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, नेपाल हाइड्रो, सुभम पावर, सिटी होटल र कुथेली ब्रुखरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।